काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाविना प्रजातन्त्र रहन नसक्ने दाबी गरको छन् ।
दशैंको अवसर पारेर एक भिडियो सन्देश जारी गर्दै पूर्व राजा शाहले प्रजातन्त्र विना राजसंस्था र राजसंस्थाविना प्रजातन्त्र वलियो हुन नसक्ने भनेका छन् । उनले उचित समय आएपछि उचित तरिकाले त्यसको प्रस्फुटन हुने आशा समेत व्यक्त गरेका छन् ।
उनले राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको भन्दै भनेका छन्,‘लोककल्याणका हेतु, राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनु पर्ने हो । तर, राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको छ ।’
प्रजातान्त्रिक, प्रगतिशिल या अन्य जुनसुकै बिचारप्रति आस्थावान भए पनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वाश आफूले लिएको शाहले बताएका छन् ।





