राजनीति

संसद् खुलाउन प्रधानमन्त्री र सभामुखले ओलीसँग संवाद गर्नुपर्ने एमाले सर्त

काठमाडौं । संसदको जारी अवरोध खुलाउन प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी ओलीसँग संवाद गर्नुपर्ने सर्त राखेको छ ।

एमाले सांसद एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले ओलीसँग व्यक्तिगत रुपमै भेटेर छलफल गर्नुपर्ने बताए । बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले एमाले कानुन र संविधानको रक्षाका लागि दृढताका साथ संसद्‌मा उभिरहने पनि बताए ।

‘नेकपा एमाले कानुन र संविधानको रक्षाका लागि दृढताका साथ संसद्‌मा उभिरहन्छ । संविधान, कानुन मिचेर बनाइएको र सरकारमा समावेश भएको दललाई मान्यता दिइएको बैठकमा हामी जाँदैनौँ’ पत्रकारहरुसँग उनले भने ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री देउवा र सभामुख सापकोटाले एमालेका मुद्दालाई सम्बोधन गरेर सिधा आफ्नो पार्टीका संसदीय दलका नेतासँग छलफल गर्नुपर्ने माग राखे । एमालेको अहिलेको अवरोध सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला निर्णयहरूविरुद्ध रहेको उनको भनाई छ । भट्टराईले राजनीतिक दल विभाजन सम्बन्धी विधेयक सरकारले संसद्‌मा बेवारिसे छोडेर अचानक मन्त्रिपरिषद्ले फिर्ता लिनु कानुन, संविधान र नैतिक दृष्टिकोणले पनि उचित नभएको पनि उल्लेख गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *