समाचार

उपेन्द्र र बाबुरामबीचको शक्ति संघर्षको असर मन्त्रिपरिषद्मा

काठमाडौं । केही दिनयता जसपा अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षबीच शीतयुद्ध जारी छ । बाबुराम पक्ष उपेन्द्रलाई सरकारमा जानबाट रोक्न खोजिरहेको छ । तर, उपेन्द्र भने सरकारमा आफैंले नेतृत्व गर्ने सोचमा छन् ।

बाबुराम पक्षले सरकारमा राजेन्द्र श्रेष्ठ वा आफ्नो पक्षको कसैलाई नेतृत्व दिएर पठाउनुपर्ने चाहिरहेको छ । तर, उपेन्द्रले भने त्यसलाई अस्वीकार गरेका छन् । यसकारण पनि जसपामा द्वन्द्व देखिएको र त्यसको असर गठबन्धन सरकारमा परेको छ । पार्टी झगडाकै कारण बाबुराम पनि पहिले जस्तो बाहिर देखिन र बोल्न छाडेका छन् ।

उपेन्द्र र बाबुरामबीचको शक्ति संघर्षकै कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको गठबन्धन दलका नेताहरूले बताइरहेका छन् । विगतमा जसपाको हरेक दिन बैठक बस्थ्यो । तर, अहिले उपेन्द्रले बैठकसमेत राख्न छाडेका छन् । जसकारण क–कसलाई मन्त्री बनाउने भन्ने निर्णय लिन महाभारत भएको छ ।

त्यसैले साढे दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवाले सकेका छैनन् । शुक्रबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा जसपा सहभागी भएन । जसपाले चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भइसकेको छ । तर, जसपामा मन्त्रीका आकांक्षी धेरै देखिएकाले उपेन्द्र सकसमा छन् ।

राजनीतिक दल विभाजनसम्बन्धी अध्यालेश निष्क्रिय बनाएपछि मात्रै सरकारमा जाने जसपाले हल्ला चलाए पनि भित्री कारण भने बाबुराम र उपेन्द्र पक्षबीचको शक्ति संघर्ष नै रहेको एक नेताले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *