समाचार

दिउँसै भारतीय दूतावास छिर्ने महन्थ र राजेन्द्र महतोको गतिविधि सन्देहपूर्ण

काठमाडौं । संविधानको धारा ७६ (२) बमोजिम नेपाल काँग्रेसका नेता शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनाउन विपक्षी दलहरुलाई दिइएको समयसीमा हिजो राति ९ बजे अगाडि दलहरुको दौडधुप चर्को थियो ।

सरकार गठनको निम्ति महत्वपूर्ण हिस्सा बनेको जनता समाजवादी पार्टीका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतो भने सांसदहरुलाई एकजुट बनाउने, शीतल निवास र बालुवाटार धाउने मात्र होइन, दिउँसो लैनचौरस्थित भारतीय दूतावास छिर्नेसम्मको काममा सक्रिय भए ।

गठबन्धन पक्षधर उपेन्द्र समूहले भेटघाटको निम्ति बालकुमारीस्थित आफ्नै दलको कार्यालय प्रयोग गरेको थियो भने ठाकुरहरुले सरकारी कार्यालय । उनीहरुले बिहान बबरमहलस्थित रेञ्जर संघ र मधीसी कर्मचारी सङ्गठनको कार्यालय खोलेर त्यहाँ भेला बोलाएका थिए । त्यसपछि सांसदहरुलाई लञ्च खुवाउने नाममा भक्तपुरस्थित डोलेश्वर रिसोर्ट पुर्याए । त्यसपछि अर्को जरुरी बैठक भनेर उनै दुई भाइ निस्किए । उनीहरु अन्त कतै नगई ४ बजेको सेरोफेरोमा सीधै लैनचौरस्थित भारतीय दूतावास छिरेका थिए ।

सरकार जोगाउने,सरकार ढाल्ने, राष्ट्रपतिकोमा निवेदन हाल्न जाने, बालुवाटारमा छलफल गर्ने कामको अघि र पछि उनीहरुले पटक पटक भारतीय दूतावास छिर्नुको भेउ एमालेका केही नेताले पाए पनि सर्वसाधारणले ठ्याक्कै चुरो कुरो बुझ्न भ्याएका छैनन् ।

मुलुकको आन्तरिक राजनीतिलाई चाखपूर्वक हेरेको भारतीय दूतावासमा नेताहरुको पटक पटकको प्रवेशले के सन्देश गएको छ रु विपक्षी गठबन्धन र आफ्नै दलभित्र प्रधानमन्त्री अफर गर्दा मुन्टो बटार्ने तर विदेशी दूतावासमा लाजै नमानी नियमित छिर्ने ठाकुरका पछिल्ला गतिविधि निकै सन्देहपूर्ण ठानिएको छ ।

आफूलाई प्रधानमन्त्रीको अफर आउँदा चट्टानी अडान राख्दै एमाले अध्यक्ष केपी शर्मा ओली नै अहिलेको अवस्थामा ठीक हुनुहुन्छ भन्ने ठाकुर र महतोको भनाई जति ठीक होला त्योभन्दा बढी भारतीय दूतावासमा उनीहरुको नियमित प्रवेशले विभिन्न आशंका बढाएको छ ।

जनप्रतिनिधिको हैसियतमा रहेका नेताहरुको उक्त क्रियाकलापवारे दुई नम्बर प्रदेश मात्र होइन,संघीय संसद र आमनेपालीलाई जानकारी पाउने हक छ । यसबारे उनीहरु वा सरकार र सरोकारवाला सबैले जवाफ दिनु आवश्यक छ ।

यो विदेशी दूतावासमा हाकाहाकी पसेर,त्यहाँबाट निर्देशन लिएर, जवाफदेहिता पूरा गरेर भन्ने गरिएको राष्ट्रवादको नक्कली मुखुण्डो हो कि होइन ? जनतालाई सोध्ने अधिकार छ ।
– जनआस्थाबाट साभार

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *