काठमाडौं । स्थानीय प्रशासनले उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा आज बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै कार्यालय बन्द रहनेछन् । सार्वजनिक र निजी यातायातका साधन चल्ने छैनन् ।
तर, बैंक तथा वित्तीय संस्थाले भने निषेधाज्ञामा पनि सबै शाखा कार्यलयबाट सेवा दिने भएका छन् । कोभिड–१९ दोस्रो लहरको प्रकोप नियन्त्रणका लगि उपत्यकालगायत देशका अरु जिल्लामा निषेधाज्ञा जारी गरिए पनि अत्यावश्यक सेवा भएकाले बैंकहरुले सबै शाखाबाट सेवा प्रदान गर्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताएका छन् ।
प्रशासनले बैंकको परिचपत्र देखाएपछि कर्मचारीलाई कार्यालय आउन दिने भनेकाले पास आवश्यक नपर्ने भन्दै बैंकर्स संघले केही दिन बैंकका शाखा कार्यालय खुला हुने र ग्राहकको भिडभाड नभएमा पालोपालो सेवा दिनसकिने जनाएको छ ।
संघले ग्राहकलाई सकेसम्म नोट कारोबारको सट्टा डिजिटल बैंकिङ सेवाको बढी प्रयोग गर्न आग्रह गरेको छ । ‘अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नआई भिडभाड कम गर्न आग्रह गर्दछौँ । निषेधाज्ञामा पनि बैंकका शाखारएटीएमहरु खुल्ला नै रहने भएकोले इन्टरनेट, मोबाइल बैंकिङ सेवा लिनु भएका ग्राहकहरुले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राविधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोनमार्फत सम्पर्क गर्न सक्नुहुनेछ,’ बैंकर्स संघले जारी गरेको सूचनामा भनिएको छ ।




