देश

सात दिन होइन, काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा

काठमाडौं । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओले सोमबार तीनै जिल्लामा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेका छन् । तर, सरकारले भने काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संक्रमणको दर धेरै बढेकाले जोखिम भएका जिल्लामा १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । काठमाडौंमा दैनिक एक हजार बढी संक्रमित थपिने गरेकाले पनि निषेधाज्ञा वैशाखभर लागू हुने भएको हो ।
‘जिल्ला प्रशासन कार्यालयहरूले ७ दिनको भने पनि मन्त्रिपरिषद्ले १५ दिनको निर्णय गरेको छ, अब यही निर्णय जिल्ला प्रशासनले फलो गर्नेछन्,’ एक मन्त्रीले भने ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना महामारीको जोखिममा रहेका क्षेत्रमा कडा आदेश जारी गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको भोलिपल्टै उपत्यकामा निषेधाज्ञाको घोषणा गरिएको हो । योसँगै दोस्रो लहरको संक्रमणविरुद्ध जुध्न निषेधाज्ञा जारी भएका जिल्लाको संख्या नौ पुगेको छ ।

बाँके, बर्दिया, बागलुङ र कालीकोटका सहरी, बढी जनघनत्व भएका र सीमावर्ती इलाकामा निषेधाज्ञा लगाइएको छ । सुर्खेतमा मंगलबार राति १२ बजेदेखि र कास्कीमा बुधबार बिहान ६ बजेदेखि सात दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा लगाउने जिल्लाको संख्या थप्ने क्रम जारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *