काठमाडौं । केन्द्रीय कारागार सुन्धारामा कैद सजाय भुक्तान गरिरहेका चर्चित अपराधी चार्ल्स शोभराजको अन्तर्वार्ता विदेशी सञ्चारमाध्यममा प्रकाशित भएपछि नेपालमा सनसनी मच्चिएको छ ।
शोभराजको जेलजीवन र उनका भावी योजनाबारे अन्तर्वार्तामा आधारित सामग्री आइतबार दुई बेलायती पत्रिकामा छापिएको थियो। त्यसबारे अनुसन्धान गर्न १० दिनको समय मागिएको कारागार प्रमुखले बताएका छन्।
चार दशकअघि नेपालमा अमेरिकी र क्यानडाली महिलाको हत्या गरेको अभियोगमा झन्डै १७ वर्षदेखि शोभराज केन्द्रीय कारागारको गोलघरमा छन्।
नेपाल प्रहरीबाट सेवानिवृत्त भएका एक वरिष्ठ अधिकारीले कारागारमा ठूलो सुरक्षा कमजोरी देखिएको भन्दै त्यस्ता कमजोरी तत्काल समाधान नगरिए भविष्यमा दुर्घटना निम्तिन सक्ने चेतावनी दिएका छन्।
गृह मन्त्रालयले कुनै पनि कैदीले सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिन मिल्ने कानुनी व्यवस्था नभएको भन्दै त्यसबारे अनुसन्धान जारी रहेको बताएको छ। गृह प्रवक्ता चक्रबहादुर बुढाले भने, ‘गृह मातहतका कुनै पनि निकायले चार्ल्स शोभराजको अन्तर्वार्ता लिन कुनै पनि मिडियालाई अनुमति दिएको छैन।’
कारागार व्यवस्थापन विभागले शोभराजको अन्तर्वार्ताका लागि केही विदेशी मिडियाले अनुमति मागेको भए पनि नदिइएको जनाएको छ। तर अन्तर्वार्ता छापिएपछि विभागले केन्द्रीय कारागारलाई ूतीव्र छानबिनू का लागि निर्देशन दिएको जनाएको छ।
केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले भने, ‘जेलभित्रबाट शोभराजको अन्तर्वार्ता कसरी सम्भव भयो भन्नेबारे छानबिन गर्न आइतवार नै सुरु हुने गरी १० दिनको समय पाएका छौँ र यस अवधिमा सत्यतथ्य पत्ता लाग्नेमा हामी विश्वस्त छौँ।’
प्रारम्भिक अनुसन्धानले शोभराजले आफन्त तथा परिवारका सदस्यलाई एक हप्तामा बढीमा दुईपटक टेलिफोन सम्पर्क गर्न पाउने आधारभूत अधिकारको दुरुपयोग गरेको हुनसक्ने बताइएको छ। शोभराजले फ्रान्सेली भाषा र केही अंग्रेजी मिसाएर कुरा गर्ने गरेको तथा भाषा अनुवादक नभएकोले यस्तो कमजोरीको फाइदा उठाएको हुनसक्ने जेल प्रशासनको दाबी छ।
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हेमन्त मल्लले कारागार प्रशासनले शोभराजले सञ्चारमाध्यमसँग सम्पर्क राखिरहेको कुरा थाहा नहुनु दुःखद भएको बताए। यो घटनाले कारागार सुरक्षाको कमजोरीलाई पुनः उजागर गरेको उनको धारणा छ।




