समाचार

वायु प्रदूषण बढेपछि आजदेखि चार दिन स्कुल कलेज बन्द, तर त्रिविको परीक्षा चालू

काठमाडौं । वायु प्रदूषण बढेकाले आजदेखि देशभरका शैक्षिक संस्था चार दिन बन्द भएका छन् । सरकारले आगामी शुक्रबारसम्मका लागि स्कुल कलेज बन्दको निर्णय गरेको हो ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै आजदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

सरकारको यो निर्णयपछि केही निजी विद्यालयले भने अनलाइनमार्फत पठनपाठन गराउने तयारी गरेका छन् । विद्यालय चार दिन बन्द भए पनि पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा भने सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयले चैत २० गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। वायु प्रदूषण बढेको र यसले विद्यार्थीलाई असर पर्न सक्ने भन्दै पठनपाठन रोकिएको हो। त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सूचना निकालेर पठनपाठन बन्द हुने उल्लेख गरेका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ । अहिले नेपालको आकाशमा बाक्लो तुवाँलो लागेको छ । विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै तीन दिनदेखि नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको जानकारी दिए । उनका अनुसार मौसम सफा हुन डढेलो कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न सकिने अवस्था छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *