काठमाडौं । नेपाली कांग्रेसको केन्द्रय कार्यसमितिको आकस्मि बैठक सम्पन्न भएको छ । बैठकले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले शोक प्रस्ताव पारित गरेको हो ।
केन्द्रीय समिति बैठकले २०७७ चैत्र १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालयका साथै सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने र उक्त तीन दिन शोकका कार्यक्रमहरु बाहेक पार्टीका अरु औपचारिक कार्यक्रमहरु निर्णय गरेको छ । बैठकले २०७७ चैत्र १७ गते मंगलबारका दिन केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
यसै गरी स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका
राख्ने निर्णय गरेको छ । बैठकले जोशीको स्वर्गारोहणको १३ औँ दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोक सभाको आयोजना गर्ने निर्णय गरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
केन्द्रीय समतिको निर्णयमा भनिएको छ राजनीतिलाई सधै जनताको सेवा गर्ने भावना र अवसरका रुपमा लिने सरल, वौद्धिक र क्षमतावान नेता जोशी नेपाली कांग्रेसमा निष्ठावान राजनीतिज्ञका रुपमा परिचित हुनुहुन्थ्यो । लोकतान्त्रिक आन्दोलनका क्रममा स्वर्गीय जोशीले पटक–पटक गरी करीब एक वर्ष जेल जीवन समेत व्यतित गर्नु भएको थियो । पार्टीको विभिन्न तहको विभिन्न पदमा रही स्वर्गीय जोशीले नेपाली कांग्रेसलाई सुदृढ एवं गतिशील बनाउन महत्वपूर्ण योगदान गर्दै नेपालमा लोकतन्त्र पुनस्र्थापनाको आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै शैक्षिक एवं सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योगदान पु¥याउनु भएको थियो । उहाँको सक्रिय योगदान
पार्टीको इतिहासमा सदा स्मरणीय रहनेछ । नेपाली कांग्रेसले एक कुशल संगठक र सिङ्गो मुलुकले एक क्षमतावान नेतृत्वलाई गुमाएको छ । उहाँको निधनबाट पार्टी र सिङ्गो मुलुकलाई अपूरणीय क्षति पुगेको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशक भन्दा लामो समय अनवरत संघर्षरत अथक योद्धा नविन्द्रराज जोशीको निधनबाट नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको छ । नेता जोशीको निधनप्रति नेपाली कांग्रेसको यो आकस्मिक बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।
नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्व उप–मेयर, संविधानसभा सदस्य, पूर्व मन्त्री, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं पार्टीका नेता नविन्द्रराज जोशीको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा हिजो २०७७ चैत्र १३ गते राति ८ः२४ बजे असामयिक निधन भएको थियो ।




