काठमाडौं । केपी ओलीको विकल्प दिन अन्य दल असफल भएपछि अहिले जसपा नै वर्तमान सरकारमा जान हतारिएको छ । खासगरी जसपाको पूर्वराजपा पक्ष ओली नेतृत्वको सरकारमा जान खोजिरहेको छ । त्यसमा पनि महन्थ ठाकुर र राजेन्द्र महतो ज्यादै नै लालयित देखिएका छन् । तर, जसपाको अर्को पक्ष भने खिलापमा छ ।
पूर्वराजपाबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्य निर्वाचित रेशम चौधरी अहिले डिल्लीबजार कारागारमा सजाय भुक्तान गरेर बसिरहेका छन् । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको नरसंहारमा चौधरी दोषी करार भएका छन् । उनलाई जन्मकैद सुनाइएको छ ।
तर, ओली सरकारमा सामेल हुनका लागि जसपाले चौधरीलाई विना सर्त रिहाइ गर्नुपर्ने माग अघि सारेको छ । प्रधानमन्त्री केपी ओली पनि यसमा सकारात्मक भएको समाचार बाहिरिएको छ । ओली एमालेका अध्यक्ष पनि हुन् । तीन वर्षअघि ओली नेतृत्वको एमालेले टीकापुर हत्याकाण्डका दोषीलाई सरकारले उन्मुक्ति दिन खोजेको भन्दै विज्ञप्ति नै निकालेर आपत्ति जनाएको थियो ।
त्यसबेला हालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली एमाले सचिव थिए । उनकै हस्ताक्षरमा विज्ञप्ति सार्वजनिक भएको थियो । ज्ञवालीले एक नाबालकसहित सात सुरक्षाकर्मीको हत्यामा संलग्नका दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेको थियो । उनीहरूलाई उन्मुक्ति दिँदा दण्डहीनताले प्रश्रय पाउने एमालेको निष्कर्ष थियो ।
त्यसबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थिए । कांग्रेस–माओवादी केन्द्रको संयुक्त सरकार थियो । अर्को दलको सरकारले चौधरीलाई उन्मुक्ति दिन खोजेको भन्दै आपत्ति जनाउने एमाले अहिले कुन मुखले चौधरीलाई रिहा गर्न खोज्दैछ ? सर्वत्र चासो देखिएको छ ।
तर, यतिबेला सोही एमाले रेशम चौधरीसँग आफ्नो सत्ताको कुर्सी साटिरहेको छ । ओलीको कुर्सी बचाउन चौधरीलाई रिहा गर्न खोजिएको छ ।





