काठमाडौं । निर्वाचन आयोगले पठाएको एमाले र माओवादी केन्द्र अलग अलग भएको पत्र संसद् सचिवालयमा पुगेको छ । सर्वोच्च अदालतको पछिल्लो फैसलाले दुवै दल २०७५ जेठ ३ गतेअघिकै अवस्थामा रहेको, दुवै दलबीच एकता भई बनेको नेकपा खारेज गरेपछि आयोगले त्यसबारे संसद् सचिवालयलाई जानकारी गराएको हो ।
एमाले र माओवादी केन्द्र अलग अलग पार्टी भए पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताएका छन् ।
‘माओवादी केन्द्रका सांसदहरु भने अब अलग्गै बस्नेछन्,’ उनले भने, ‘आयोगको पत्र प्राप्त भइसकेको छ । सत्तापक्षकै लहरमा अर्को व्यवस्थापन गरिन्छ।’
माओवादी केन्द्रले सत्ता समीकरण अर्को नबनेसम्म केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । अहिले नै समर्थन फिर्ता लिँदा प्रधानमन्त्री ओलीले धेरैतिर चलखेल गर्न सक्ने र प्रदेशमा सत्ता समीकरण फेरबदल हुने भएकाले पनि माओवादी केन्द्र तत्काल ओलीलाई दिएको समर्थन फिर्ता लिन चाहँदैन ।
नेकपा माओवादी केन्द्रले तत्काल सरकारको समर्थन फिर्ता नलिने भएको छ । आज बसेको स्थायी कमिटी बैठकले सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको हो । तर सरकार गठनका विषयमा कांग्रेस र जनता समाजवादी पार्टी नेपालसँग छलफल भने जारी राख्ने निर्णय माओवादीले गरेको छ । माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि छलफल प्रक्रिया तीव्र बनाएको छ ।
प्रतिनिधि सभामा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बसेर निर्णय गर्ने भएको छ । माओवादी केन्द्रले प्रतिनिधि सभा बैठक अघि संसदीय दलको बैठक बोलाएको छ ।




