काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनको विरोधमा सोमबार पहिलो पटक जिल्लास्तरीय सभा गर्दैछ । कांग्रेसले यसअघि गरेका विरोध कार्यक्रम प्रतिनिधिसभा क्षेत्र, प्रदेश सभा क्षेत्र, स्थानीय तह र वडास्तरीय मात्रै थिए । जिल्लास्तरीय विरोध सभालाई सम्बोधन गर्न कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यहरु जिल्ला–जिल्लामा पुगेका छन् ।
संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर कांग्रेसले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गते प्रतिनिधि क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका र वडास्तरमा विरोध प्रदर्शन र विरोध सभा गरेको थियो ।
कांग्रेसले तेस्रो चरणको अन्तिम विरोधस्वरुप जिल्लास्तरीय विरोध सभा गर्न लागेको हो । सभापति शेरबहादुर देउवाले भैरहवा, वरिष्ठ नेता रामचन्द्र पौडेलले धादिङ र नेता कृष्णप्रसाद सिटौला विरोध सभा सम्बोधन गर्न झापा पुगेका छन् ।
महामन्त्री डा.शशांक कोइराला दाङ, पूर्वमहामन्त्री प्रकाशमान सिंह कास्की, पूर्वसहमहामन्त्रीहरु अर्जुननरसिंह केसी काठमाडौं र डा.रामशरण महतले काभ्रेमा हुने विरोधसभालाई सम्बोधन गर्नेछन् । प्रवक्ता विश्वप्रकाश शर्मा ललितपुर, मोहनबहादुर बस्नेत कैलाली, नेता गगन थापा चितवन, प्रदीप पौडेल दैलेख, नवीन्द्रराज जोशी संखुवासभा, कल्याण गुरुङ रोल्पा, रमेश लेखक बैतडी, एनपी साउद दार्चुला, अर्जुन जोशी भक्तपुर र डा.मिनेन्द्र रिजालले प्युठानमा हुने विरोध सभालाई सम्बोधन गर्दैछन् ।




