काठमाडौं । प्रधानमन्त्री केपी ओलीले असली नेकपा आफूहरू नै भएको दाबी गरेका छन् । बागमती प्रदेशले शुक्रबार दरबारमार्ग आयोजना गरेको बृहत् सभामा ओलीले आजको जनसभाले कुन सक्कली नेकपा हो भन्ने पुष्टि भएको बताए ।
प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूहलाई नरभक्षीको संज्ञा दिए । उनले अब नरभक्षी आन्दोलन गर्ने दिन गएको पनि दाबी गरे । आफ्नो पार्टीको आमसभामा मान्छेलाई आउन नदिन प्रचण्ड–माधव समूहले बाटोबाटोमा बम राखेको, खाल्डो खनेको, मान्छेलाई थुनछेक गरेको आरोप पनि लगाए ।
नेपाल बन्दका बेला भएको आगजनीका पीडितलाई सरकारले क्षतिपूर्ति दिने उनले घोषणा गरे । ओलीले आफ्नो सरकारका पालामा जस्तो विकास कहिल्यै नभएको दाबी गरे । ६ हजार किलोमिटर कालोपत्रे गरेको, चार सय पुल, झोलुंगे पुल बनाएको पनि बताए ।
अब सडकमा बालबालिका नभएको बताए । कोही पनि नागरिक बेसहारा नहुने बताए । सहारा नहुनेको साथमा सरकार रहेको उनको भनाइ थियो ।




