काठमाडौं । केही दिनयता देशभर बिजुली झ्याप झ्याप निभिरहेको छ । एक घन्टाको बीचमा पाँच–सातपटक जान थालेको छ । चार वर्षसम्म मुलुक पूरै लोडसेडिङमुक्त थियो । तर, कुलमान घिसिङको बहिर्गमनसँगै लोडसेडिङका लागि परीक्षण गर्न बेलाबेला बत्ती जाने गरेको आमजनताले अनुमान गर्न थालेका छन् ।
नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ हुन्जेल लोडसेडिङको समस्या थिएन । तर उनी अवकाश भएको तीन महिनादेखि अघोषित लोडसेडिङ सुरु भएको छ ।
काठमाडौं उपत्यकामा साँझमा त झ्याप्प झ्याप्प बत्ती जाने समस्या थियो । पछिल्ला दिनमा दिउँसो पनि अघोषित लोडसेडिङको मार उपभोक्ताले खेप्न थालेका छन् ।
वर्षमान पुन ऊर्जामन्त्री हुञ्जेलसम्म पनि बत्ती त्यति जाँदैनथ्यो । तर, मुलुकमा १८ घन्टे लोडसेडिङका साक्षी तत्कालीन जलस्रोतमन्त्री टोपबहादुर रायमाझी पुनः ऊर्जामन्त्री बनेर आएपछि बत्ती जान थालेको छ ।
नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य छन् । घोषित लोडसेडिङ गर्दा बिरोध हुने भएकाले उनले अघोषित लोडसेडिङ गर्न थालेका छन् । जसका कारण बजारमा इन्भर्टर र जेनेरेटरको माग बढ्न थालेको छ । शाक्यले फोर्स लोडसेडिङ पहिला पनि हुन्छ भनेर लोडसेडिङ गराउने बहाना बहाना बनाएका छन् । जसले गर्दा पनि आमजनताले कुलमानलाई सम्झिन थालेका हुन् ।




