काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टी स्थायी कमिटी बैठकको निर्णय बेवास्ता गर्दै संवैधानिक परिषद्सम्बनधी अध्यादेश फिर्ता लिन आनाकानी गरेका छन् । तीन दिन बितिसक्दा पनि ओलीले चासो देखाएका छैनन् ।
उनले बिहीबार मन्त्रिपरिषद् बैठकमा अध्यादेश फिर्ताबारे कुनै कुरै उल्लेख गरेनन् । न त मन्त्रीहरूलाई नै कुनै जानकारी गराए । बरु आफू निकट नेताहरूलाई उनले अध्यादेश फिर्ता नहुने बोल्न लगाएका छन् ।
तीन दिनअघि नेकपाका ८३ जना सांसदको हस्ताक्षरसहित नेता भीम रावल र पम्फा भुसाल विशेष अधिवेशनको माग गर्दै शीतल निवास पुगेका थिए । तर, उनीहरूको समावेदन राष्ट्रपति कार्यालयले दर्ता नै गर्न मानेन । सचिव हरि पौडेल मोबाइल फोन स्वीच अफ गरेर बेपत्ता भएका थिए ।
पार्टी स्थायी कमिटीको निर्णयसमेत लत्याउने संकेत देखिएपछि नेकपाका सांसदहरू फेरि शीतल निवास जाने तयारी गरेका छन् । जसको जानकारी नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले दिएका छन् । रिजालले शुक्रबार सामाजिक सञ्जालमार्फत त्यसको संकेत गरेका हुन् ।
‘पार्टीमा निर्णय भएपछि त्यसलाई इमानदारीपूर्वक कार्यान्वयन गर्दा मात्रै अविश्वास र असहमति कम गर्न सकिन्छ । प्रधानमन्त्रीले अध्यादेश तत्काल फिर्ता नलिए संसद्को विशेष अधिवेशन आह्वानका लागि सांसदहरू फेरि शीतल निवास पुगेको दृश्य देख्नुपर्ने नै छ। दुनियाँ हँसाएर र आफ्नै विश्वसनीयता यति तल झारेर स्वयम् व्यक्ति र पार्टीलाई के फाइदा होला र,’ उनले लेखेका छन् ।




