काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्न लागेको हो। बैठक बिहान साढे १० बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने छ।
बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले संसदीय दल कार्यसमिति बैठक बोलाएर संवैधानिक परिषद्सम्बन्धी जारी अध्यादेशसँगै अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्ने निर्णय गरेको थियो।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी थिइन्। अध्यादेशमा ऐनको दफा ६ मा रहेको ‘परिषद्को बैठकसम्बन्धी कार्यविधि’ सम्बन्धी केही व्यवस्था परिवर्तन गरिएको छ।
दोस्रोपटक पनि प्रधानमन्त्री केपी ओलीले वैशाखमै ल्याएको अध्यादेश ल्याएपछि नेकपाभित्रै व्यापक आलोचना भएको छ । कांग्रेसले अध्यादेश फिर्ता लिन माग गरेको छ । अध्यादेश फिर्ता नलिएसम्म कांग्रेस सभापति शेरबहादुर देउवा संवैधानिक परिषद्को बैठकमा उपस्थित नहुने भएका छन् ।




