रिबन

कुर्सी जोगाउन दिल्लीसँग नजिकिँदै ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतसँगको सम्बन्धलाई पुनः मजबुत बनाउन खोजेका छन् । पार्टीमा अप्ठेरो अवस्था आउने देखिएपछि कुर्सी जोगाउनकै लागि भए पनि ओलीले भारतीय नेता र कूटनीतिक कर्मचारीलाई हरेक महिना काठमाडौं डाकिरहेका छन् ।

यतिबेला ओली र भारत सरकारबीच सम्बन्धमा सुधारको संकेत देखिएको छ । कर्मचारी र कूटनीतिकमार्फत सम्बन्ध सुधार नभएपछि ओलीले राजनीतिकस्तरमै भ्रमण सुरु गरेका छन् । भारतीय सत्तारुढ दलका विदेश विभाग प्रमुख विजय चौथाइवालेको नेपाल भ्रमणपछि ओलीले आफ्ना निकट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भारत पठाउँदै छन् । सम्भवतः मंगलबार ज्ञवाली नयाँ दिल्ली प्रस्थान गर्दैछन् ।

पार्टीमा इतर पक्ष कडा रूपमा प्रस्तुत भएपछि प्रधानमन्त्रीलाई अहिले नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले निकै साथ दिएका छन् । उनले नै भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई काठमाडौं बोलाएर बालुवाटारमा भेट गराएका हुन् ।

चौथाइवालेले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा वार्ता गर्नुलाई विधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघनको अर्को परिघटना भन्दै नेकपा स्थायी कमिटी सदस्य समेत रहेका पूर्वउपप्रधानमन्त्री भीम रावलले आपत्ति जनाएका छन्। उनले चौथाइवालेलाई सरकारी व्यक्तिसरह आमन्त्रण गर्दा आफ्नो पार्टीको कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई जानकारी नदिइएकोसमेत उल्लेख गरेका छन्।

नेकपाभित्र विवाद बढ्दै जाँदा ओलीले भारतका सरकारी र राजनीतिक क्षेत्रका नेताहरुसँगको सम्वाद बाक्लो बनाएका छन्। रअ प्रमुख, भारतीय सेनाप्रमुखसँँगको भेटपछि ओलीले भाजपाका विदेश विभाग प्रमुखसँग भेट गरेका हुन्।

पार्टीभित्र विवाद बढ्दै जाँदा ओलीको दिल्ली रुझानलाई धेरैले कूटनीतिक मर्यादाविपरित भनेका छन्। उनीहरुले ओली पार्टीभित्र अल्पमतमा रहेका कारण सरकार टिकाइदिन आग्रह गर्न थालेको बताएका छन्। आफ्नो प्रधानमन्त्री पद कायमै राख्न ओलीले जस्तोसुकै सम्बन्ध स्थापित गर्न पछि पर्दैनन् भन्ने देखाएको नेकपा नेताहरुले नै बताउन थालेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *