रिबन

नेकपाका लागि ‘कुलिङ पिरियड’ त्यत्तिकै गुज्रियो, म्याद थप्दै शक्ति देखाउँदै

काठमाडौं। मंसिर २१ गते बसेको नेकपा स्थायी कमिटीको बैठक मंसिर २८ गतेसम्मका लागि स्थगित गरिएको थियो । बचेको सात दिनको समयलाई नेताहरुले पार्टीको विवाद समाधानका लागि अनौपचारिक छलफल गर्न ‘कुलिङ पिरियड’ भनेका थिए । तर, २८ गतेको बैठक एकछिन बसेर फेरि तीन दिन थपिएको छ ।

शीर्ष नेताहरुले कुलिङ पिरियडमै आफ्नो शक्ति प्रर्दशनसमेत सुरु गरे, जसका कारण सहमतिभन्दा असहमतितर्फ उन्मुख भयो ।

२१ मंसिरमा बैठक सकिएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै ‘यो अवधिमा नेताहरुबीच अनौपचारिक कुराकानी पनि गर्ने भन्ने भएको छ’ भनेका थिए । तर स्थायी कमिटीको बैठक बस्ने अघिल्लो दिन शनिबारसम्मको अवस्था हेर्दा नेकपाका दुई अध्यक्ष तथा वरिष्ठ नेताहरु यो अवधिमा पनि सहमतिको प्रयास देखिएन ।

गएको बुधबार प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगे । उनको बालुवाटार गमन सुखद् रहेन । बरु प्रचण्डले अब दुई अध्यक्षबीच एक्लाएक्लै छलफल नगर्ने बताएर ओलीबाट छुट्टिए । र, त्यसपछि प्रचण्ड बालुवाटार गएका छैनन् ।
बरु शुक्रबार बागमती प्रदेशका आफू निकट नेताहरुको भेला गरेर ओलीलाई शक्ति देखाईदिने मनस्थितिमा पुगे । भेलामा प्रचण्ड र उनको समर्थनमा रहेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीमाथि तिखो टिप्पणी गरेका थिए ।

दुबै नेताले अब जे गर्ने हो, पार्टीको कमिटीले निर्णय गर्ने बताएका थिए ।
स्थायी कमिटीमा अहिले दुई अध्यक्षले पेश गरेका छुट्टाछुट्टै प्रतिवेदन र एकअर्का अध्यक्षलाई लेखेका चिठीहरु छन् । सोझै राजनीतिक प्रस्तावमा छलफलको एजेण्डा नभनेर आइतबारको स्थायी कमिटीमा पार्टीको आन्तरिक संकटलाई एजेण्डा बनाइएको थियो । यसलाई पनि ओली पक्ष र प्रचण्ड–माधव पक्षले आ–आफ्नै ढंगले व्याख्या गरेका छन् । आइतबारको बैठकमा ओली उपस्थित भए, तर बैठक छोटो समय बसेर टुंगियो ।

ओली प्रचण्डको प्रस्ताव आरोप पत्र भएको भन्दै त्यसमाथि कुनै छलफल हुन नसक्ने भनिरहेका छन् । उनले सो प्रस्ताव फिर्ता नभएसम्म बैठकमा उपस्थित नहुने भन्दै २१ मंसिरको बैठकमा पत्र पठाएका थिए । तर, प्रचण्डले सो प्रस्ताव फिर्ता नहुने बताइसकेपछि ओलीले त्यसमा छलफल नहुने अडान लिइनै रहे । प्रचण्ड निकटकाले भने पार्टीको आन्तरिक संकटमा राजनीतिक प्रस्ताव पनि रहेकाले ती प्रस्तावमाथि पनि छलफल हुने बताएका छन् ।

पुस १ गते बस्ने बैठकमा पार्टीको आन्तरिक विषयहरुबारे छलफल हुने बताइएको छ । कुल मिलाएर यो सात दिनको अवधिमा विवाद समाधानबारे कुनै सहमति जुटिनसकेकाले आइतबारको बैठक पनि कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पास गरेर टुंगिएको थियो ।

यसबीचमा ओलीले भने प्रचण्डलाई मनाउने प्रयास भने जारी राखेका छन् । शनिबार मात्र ओली निकट स्थायी कमिटी सदस्य तथा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार पुगेका थिए । उनले अध्यक्ष प्रचण्डसँग छलफल गरेको बताइएको छ । तर, सहमति भने जुटिसकेको छैन।
यस्तै ओली निकटका नेताहरुले आइतबार पनि यस्तो भेटलाई निरन्तरतामा दिएका थिए । आइतबार सुवास नेम्वाङले प्रचण्डसँग भेट गरेर ओली र प्रचण्ड मिल्नुपर्ने बताएका थिए । तर प्रचण्डले यो विषयलाई खासै वास्ता गरेका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *