रिबन

आजबाट कांग्रेस नेताहरू जिल्ला जिल्ला लागे, कसले कहाँ कहाँ सम्बोधन गर्दैछन् ?

काठमाडौं । नेपाली कांग्रेसले सोमबार ७७ रै जिल्लामा विरोध प्रदर्शन र आमसभाको आयोजना गर्दैछ । सरकारका बेथिति र तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई गरिएको गिरफ्तारीको विरोधमा सोमबार हुने देशव्यापी प्रदर्शनलाई सम्बोधन गर्न केन्द्रीय नेताहरू आइतबारदेखि नै जिल्ला जिल्ला जाने भएका छन् ।

पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलाई केन्द्रबाटै खटाइएको हो भने केन्द्रीय सदस्यहरू जिल्ला सभापतिको आमन्त्रणमा जान लागेका हुन् ।

सभापति शेरबहादुर देउवा मकवानपुर र वरिष्ठ नेता पौडेलले काठमाडौंमा सम्बोधन गर्नेछन् । उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा.शशांक कोइराला मोरङ, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर, सहमहामन्त्री डा.प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह धनुषा र कृष्णप्रसाद सिटौला महोत्तरी, पूर्वसहमहामन्त्री डा.रामशरण महत चितवन र अर्जुननरसिंह केसी कास्की, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव सप्तरी र सहमहामन्त्री सुनीलबहादुर थापा धनकुटा जाँदै छन् ।

कांग्रेस युवा नेता गगन थापाले धनगढी र रामहरि खतिवडाले इलाममा आयोजित विरोध सभालाई सम्बोधन गर्दैछन् । महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयबाट देशभरका कार्यक्रमको समन्वय गर्नेछन् । कोरोना कहरका बीच कांग्रेसले देशव्यापी सडक प्रदर्शन गर्न लागेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *