रिबन

एआइजीको चलखेल सकियो, डिआइजीको बढुवामा चलखेल शुरु

काठमाडौं । नेपाल प्रहरीका डिआइजी विश्वराज पोखरेलले एआइजीको फूली लगाएपछि दुई करिब १८ महिनासम्मका लागि एआइजीको चलखेल सकिएको छ । यो सँगै अब डिआइजीमा बढुवका लागि चलखेल सुरु भएको छ ।

सरकारले नेपाल प्रहरीको पाँच डिआइजी थप गरेपछि चलखेल सुरु भएको हो । डीआइजीका १२ दरबन्दी निलम्बनमा भएकाले तीमध्ये पाँच पद कायम गरी बढुवा गर्ने प्रहरीको मागलाई ध्यानमा सरकारले ५ दरबन्दी कायम गरेको थियो ।

अघिल्लोपटक र तीन र अहिले एक गरी चार पद रिक्त भएको छ । अब बढुवा हुँदा नौजना एसएसपीहरु डिआइजीमा बढुवा हुनेछन् । ‘प्रहरीको मागअनुसार नै गृह मन्त्रालयले पाँच दरबन्दी कायम गरी रिक्त चारसमेत नौ डीआइजी पदमा बढुवा गर्ने प्रस्ताव तयारी गर्न थालिएको छ,’ गृह मन्त्रालय स्रोतले भन्यो ।

गृह मन्त्रालयका सहसचिव रामप्रसाद आचार्य संयोजक रहेको संगठन तथा ब्यवस्थापन सर्वेक्षण (ओएण्डएम) समितिले तीन महिनाअघि नै डिआइजीको दरवन्दी थप गर्ने प्रस्ताव गरेको थियो। प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालय पनि पाँच डीआइजी आवश्यक रहेको निष्कर्षमा पुगेपछि सो प्रस्ताव गरिएको थियो ।

लागूऔषध ब्यूरो, साइबर ब्यूरो, जुनियर प्रहरी तालिम शिक्षालय भरतपुर, विमानस्थल सुरक्षागार्ड (एयरपोर्ट) र सुरक्षा निर्देशनालयमा डीआइजीकै दरबन्दी आवश्यक भएकाले पाँच डीआइजीका दरबन्दी कायम राख्नुपर्ने पक्षमा प्रहरी नेतृत्व र गृह मन्त्रालय रहेको थियो ।

संघीयता लागू भइसकेको र संघमा थोरै संख्यामा प्रहरी रहने हुनाले सरकारले २०७६ चैतमा प्रशासनतर्फका २६ डीआइजीमध्ये १२ पद निलम्बन गरी १४ कायम गरेको थियो। निलम्बनमा राखिएका डीआइजीका दरबन्दी आवश्यक परे ओएण्डएम गरी पुनः कायम गर्नसकिने भनिएको थियो ।

पाँच डीआइजी आवश्यक पर्ने देखेर प्रहरीको मागअनुसार गृहले मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो । तर मन्त्रिपरिषदले स्वीकृत नगरेकाले रिक्त रहेको तीन दरवन्दीमा पनि डिआइजी बढुवा हुन सकेका छैनन् ।

तत्कालीन आइजीपी ठाकुर ज्ञवाली, एआइजी तारिणी लम्साल र डीआइजी सूर्य उपाध्यायको अवकाशपछि तीन डीआइजी पद रिक्त रहेको थियो भने डिआइजी विश्वराज पोखरेल बढुवा भएपछि अर्को एक पद रिक्त भएको थियो ।

चार डीआइजी बढुवाका लागि हालका आइजीपी थापाकै समूहका एसएसपीहरु पनि दाबेदार छन् । त्यसबाहेक डीआइजी बढुवाका दाबेदार एसएसपीहरुमा गणेशबहादुर ऐर, दिवेश लोहनी, पुरुषोत्तम कँडेल, दिलीप चौधरी, राजेशलाल कर्ण, देवबहादुर बोहरा, दिवेश लोहनीसहित नौजना छन् ।
हालका डिआइजीहरु धिरजप्रताप सिंह,सहकुल थापाहरुको समूहका १५ एसएसपी बढुवाको दौडमा छन् । उनीहरुमध्ये दरवन्दी थप भए नौजना डिआइजीमा बढुवा हुनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *