काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी ओलीले नेताहरुलाई फकाउने र गलाउने प्रयास गरिरहेका छन् ।
पार्टीभित्रको विवाद समाधान गर्ने प्रयास पनि भइरहेको बेला ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर एकअर्काको विरुद्ध कुराकानी गरेर प्रचण्डलाई फकाउने र नेपाललाई गलाउने प्रयास गरेका हुन् ।
विशेष गरी युवा नेताहरुले मध्यमार्गी उपाय निकालेर विवाद समाधान गर्ने गरी पहल थालेका बेला ओली भने यस्तो रणनीतिमा लागेका हुन् ।
युवा नेताहरुले उनीहरुले अहिलेको विवाद समाधानका लागि भदौ २६ गते स्थायी कमिटी बैठकले गरेको निर्णय कार्यान्वयन गर्ने र त्यसलाई आधार मानेर नयाँ निर्णय गर्दै महाधिवेशनसम्म पार्टीलाई एकतावद्ध पारेर लौजाने गरी पहल थालेका छन् । तर ओलीले प्रचण्डलाई वालुवाटारमा बोलाएर माधव नेपालसँग नमिल्न दबाब दिएका थिए ।
कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै विभिन्न आरोपसहित १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो ।
त्यसका जवाफमा मंसिर १३ गते बसेको सचिवलाय बैठकमा प्रधानमन्त्री ओलीले ३८ पृष्ठ लामो जवाफ पत्र पेश गरेका थिए । दुवै अध्यक्षले पेश गरेको प्रतिवेदन २१ गते सुरु भएको स्थायी कमिटी बैठकमा प्रस्तुत गरिएको छ र, दुवै प्रतिवेदन स्थायी कमिटी सदस्यलाई अध्ययन गर्न दिइएको छ । यो बीचमा नेताहरुले पार्टीभित्रको विवाद समाधानका विभिन्न उपायका विषयमा छलफल गरिरहेका छन् ।
‘मैले मंगलबार मात्रै अध्यक्ष प्रचण्ड र ईश्वर पोखरेलसँग छलफल गरेँ,’ नेकपा स्थायी कमिटी सदस्य देवन्द्र पौडेलले भने, ‘अहिले पार्टीभित्र देखिएका विवादलाई समाधान गर्दै महाधिवेशनसम्म एकताबद्ध भएर जानुपर्छ भन्ने विषयमा उहाँ (प्रचण्ड) सकारात्मक हुनुहुन्छ । उहाँले कुनै पनि हालतमा पार्टी विभाजन हुन दिन्न भन्नु भएको छ ।’
यो बीचमा ओली प्रचण्डबीच आफ्ना विश्वासपात्र मार्फत सन्देश आदानप्रदान भने भइरहेको थियो । प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्र सुवास नेम्वाङ र ईश्वर पोखरेलमार्फत सन्देश प्रचण्डकहाँ पुठाउने गरेका छन् । प्रचण्डले पनि ओलीलाइै केही सन्देश पठाउनुपर्यो भने नेम्वाङलाई छलफल गर्न बोलाउने गरेका छन् ।
पूर्व माओवादी पक्षधर नेताहरुले प्रचण्डलाई भेटेर महाधिवेशनसम्म पार्टीलाई एकताबद्ध बनाउँदै लैजान र विवाद समाधानमा लचक हुन दबाव र सुझाव दिने गरेका छन् । पार्टी विवाद समाधानका लागि भदौ २६ गते स्थायी कमिटीले गरेको निर्णयलाई कार्यान्वयन गर्दै वा त्यसलाई आधार मानेर नयाँ निर्णय गरेर जानुपर्ने स्थायी कमिटी सदस्य मणि थापा बताउँछन् ।
‘सबै नेताहरुलाई पार्टी एकतालाई अक्षुण राख्न विकल्पसहितको राजनीतिक सुझाव र सल्लाह दिइरहेका छौं,’ थापाले भने, ‘अहिलेको विवादको निकास भनेको भदौ २६ गतेको स्यायी कमिटीको निर्णयलाई आधार मानेर नयाँ निकासको खोजी गरिनुपर्छ ।’
पार्टी एकतालाई बचाउँदै सरकार र पार्टीको काममा संयोजन गर्नुपर्ने, एकता हुँदाको म्याण्डेटलाई स्वीकार गरेर दुई अध्यक्षबीच निरन्तर छलफल र संवाद गर्दै अन्य नेतालाई पनि विश्वासमा लिएर अघि बढ्दा पार्टी भित्रको विवाद समाधान हुने थापाले जनाए ।
‘भदौ २६ गते स्थायी कमिटीले गरेको निर्णय वैज्ञानिक छ। उक्त निर्णय किन कार्यान्वयन हुन सकेन भन्ने विश्लेषण गरेर नयाँ निर्णय लिनुपर्छ,’ स्थायी कमिटी सदस्य थापाले भने, ‘यही विषयमा हामीहरुबीच अहिले छलफल भइरहेको छ। अहिले स्थायी कमिटीमा प्रस्तुत भएको दुवै प्रस्ताव फिर्ता लिएर उच्चस्तरीय कार्यादल बनाएर समाधान निकाल्ने गरी छलफल भइरहेको छ ।’
वरिष्ठ नेता माधव नेपाल निकट मानिने स्थायी कमिटी सदस्य वेदुराम भुसाल भने पार्टी विवाद समाधान गर्ने विषय पनि बैठकमा छलफल गरेर नै निकाल्नुपर्ने बताउँछन् । पार्टीले गर्ने संस्थागत निर्णयलाई सबैले मान्नुपर्ने उल्लेख गर्दै भुसालले पार्टीको संस्थागत निर्णयबाट कोही पनि भाग्न नमिल्ने बताए । अब बस्ने स्थायी कमिटी बैठकले विवाद समाधानका लागि सचिवालय सदस्यकै नेतृत्वमा कार्यदल बनाउने संभावना रहेको समेत स्रोतको दावी छ ।




