काठमाडौं । सशस्त्र प्रहरीमा सात डिआइजीले मंसिर २७ देखि सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने भएपछि दर्जन एसएसपीहरु बढुका लागि प्रतिस्पर्धा गर्दैछन् ।
सशस्त्र प्रहरी बल स्थापना हुँदा २०५८ सालमा नेपाली सेनाबाट सेवा परिवर्तन गरी हाल डिआइजी रहेका नगेन्द्र थापा, राजेन्द्र बस्नेत, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, हरिशचन्द्र अधिकारी र कविन्द्रमान श्रेष्ठले २७ मंसिरबाट अनिवार्य अवकाश पाउँदैछन् ।
२८ मंसिर २०४७ मा नेपाली सेनामा प्रवेश गरेका उनीहरूको ३० बर्से सेवा अवधि यही २७ मंसिरमा सकिँदै छ । एउटा डीआईजी पद भने लामो समयदेखि रिक्त छ । रिक्त हुने सात डीआईजी पदका लागि १२ जना एसएसपी प्रतिस्पर्धामा छन्।
एसएसपी अभिकुमार खत्रीलाई कामू डिआइजीको जिम्मेवारी दिएका कारण उनको बढुवा हुनेमा पक्का पक्की देखिएको छ । १६ भदौ २०५१ मा प्रहरी सहायक निरीक्षकमा भर्ना भएका उनी ३ असार २०५६ मा प्रहरी निरीक्षक बनेका थिए ।
उनलाई अहिले नम्बर ६ बाहिनीको निमित्त बाहिनीपतिको जिम्मेवारीसमेत दिइसकिएको छ ।
लामो समय आर्थिक प्रशासन महाशाखामा रहेका कारण खत्रीको ट्रयाक रेकर्ड राम्रो नभएकाले उनको बढुवा हुनेमा दोधार रहेको हल्चोक मुख्यालय स्रोतले जनाए पनि उनलाई निमित्त प्रमुख दिएकाले बढुवा हुनसक्ने आँकलन गरिएको छ ।
डिआईजीका लागि वरिष्ठताका आधारमा शम्भु सुवेदी, गणेशबहादुर ठाडामगर, दुर्गाप्रसाद भट्टराई र कमल गिरी छन् । उनीहरू सबैजना खत्रीसँगै १७ चैत २०७३ मा एसएसपीमा बढुवा भएका थिए। यस्तै, कुलबहादुर नेम्वाङ, कालीदास धौबजी, कुमार न्यौपाने, विदुर खड्का, भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक पनि लाइनमा छन् ।
स्रोतका अनुसार, वरिष्ठताका आधारमा अघि रहेका सुवेदी, ठाडामगर, भट्टराई, गिरी र नेम्वाङ डीआईजी हुने पक्काकक्की जस्तै छ । सशस्त्र प्रहरी नियमवाली–२०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ। जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहनेछन् ।




