काठमाडौं । सत्तारुढ नेकपामा शीर्ष नेताबीच मात्रै विवाद देखिएको छैन । विस्तारै यो प्रधानमन्त्री केपी ओलीको निजी सचिवालयतिर पनि सरेको छ ।
शनिबारको बैठकमा नेकपा उपाध्यक्ष वामदेव गौतमले ओलीलाई ‘सूर्य थापासँग सतर्क रहनु होला, प्रशंसा गरे जस्तो गरेर तपाईलाई सिध्याइदिन्छ’ भनेको विषयले फेरि एकपटक गौतम र थापाबीच इगो सतहमा आएको छ । गौतम र थापा दुवै प्युठानका हुन् । आफूलाई पार्टी राजनीतिमा माथि आउन नदिन गौतमले भूमिका खेलेको थापाले खुलेआम आरोप लगाउँदै आएका छन् ।
झन् शनिबारको बैठकमा गौतमले राखेको विचारले सनसनी मच्चाएपछि थापा आक्रोशित भएका छन् । थापाले आइतबार बिहानै सामाजिक सञ्जालमार्फत गौतमको खिल्ली उडाएका छन् । थापाले वामदेव गृहमन्त्री हुँदा रत्नपार्कमा बीच सडकमै गाडी राखेर ट्राफिक बार क्रस गर्दै खुट्टा उचालेको तस्बिर पोस्ट गरिदिएका छन् । जुन तस्बिर फोटोग्राफर ज्ञानेन्द्र कार्कीले नयाँ पत्रिकाका लागि खिचेका थिए । जुन निकै चर्चित बनेको थियो । आइतबार बिहान थापाले त्यही तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘को कस्तो ? तस्बिर काफी छ ।’




