रिबन

ओलीलाई स्थायी कमिटी बैठकमा नजान तीव्र दबाब, धुम्बाराहीमा के होला ?

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद सचिवालय बैठकले टुंगो लगाउन नसकेपछि आज स्थायी कमिटी बैठक बोलाइएको छ । आइतबार दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक बोलाइएको हो ।

शनिबारको सचिवालय बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन स्थायी कमिटी बैठकमा छलफलका लागि लैजाने निर्णय गरेको हो । यद्यपि प्रधानमन्त्री ओलीले त्यसको प्रतिवाद गर्दै स्थायी कमिटी बैठक आवश्यक नै नरहेको बताएका थिए । उनले आफूले बहुमत र अल्पमतको निर्णय नमान्ने अडान राखिसकेपछि आजको स्थायी कमिटी बैठक बसेर के निर्णय गर्ला भन्ने चासो देखिएको छ । यसअघि पनि असारमा आफू अल्पमतमा परेपछि ओलीले स्थायी कमिटीको बैठक दुई महिनासम्म स्थगित गरेर कुनै निर्णय नै गर्न दिएका थिएनन् ।

पार्टी नेतृत्व विवाद स्थायी कमिटीमा पुगेपछि अब विवादले कुन रुप लिन्छ भनेर विभिन्न अनुमान सुरु भएका छन् । स्थायी कमिटीमा मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको लिखित पत्रका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । तर, ओलीलाई उनीनिकट नेताहरुले स्थायी कमिटी बैठकमा नजान तीव्र दबाब दिइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *