रिबन

ओलीले दुवै पदबाट राजीनामा नदिने, बादलको मध्यमार्गी प्रस्ताव अस्वीकृत

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओलीले कसैको बलले राजिनामा नदिने बताएका छन् । उनले आफ्नो पुरानै कुरा दोहोर्याउदै दुवै पदबाट राजीनामा नदिने बताएका हुन् ।
बैठकको कुनै काम नभएको भन्दै आइतवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीका लागि तय गरिएको स्थायी कमिटीमा ओलीले नआउने संकेत देखाएका छन् ।

शनिबार सवा ३ घण्टा बसेको सचिवालय बैठकमा पार्टीभित्रको संकट समाधानमा सहमति नजुटेपछि नेताहरुले दुवै प्रतिवेदन तल्लाका कमिटीमा लगेर छलफल गर्दै निर्णयमा पुग्ने बताएका थिए । ‘जहाँ गए पनि म प्रधानमन्त्री पनि छाड्दिन, अध्यक्ष पनि छाड्दिन,’ ओलीले बैठकमा भनेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यो स्थायी समिति पनि काम छैन । यसले केही काम पनि गर्न सक्दैन ।’

स्थायी कमिटी बैठक नै नबस्ने अडानमा ओली रहे पनि सचिवालयका बहुमत सदस्यहरूले आइतवार अपराह्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्नुपर्ने निष्कर्ष निकालेका थिए । आफुमाथि लगाएका आरोपका विषयमा कुनै कमिटीमा छलफल हुन नसक्ने भन्दै पहिले कार्यकारी अध्यक्षले प्रस्तुत गरेको आरोपपत्र फिर्ता हुनुपर्ने अडान राखेका थिए ।

प्रधानमन्त्रीको उक्त भनाईपछि सचिवालयका अन्य सदस्यहरुको त्यसको प्रतिवाद गरेका थिए । उनीहरुले बैठकबाट भाग्न नमिल्ने बताएका थिए । तर, प्रधानमन्त्रीले जुनसुकै बैठकमा छलफल भए पनि आफुले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने स्पष्ट पारेका थिए ।

बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयमा आएका प्रस्तावहरु स्थायी कमिटीको बैठकमा लैजाने प्रस्ताव गरेका थिए । त्यसमा सचिवालयका सदस्यहरु झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सहमति जनाएका थिए । वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीले अहिले पनि गल्ती स्वीकार नगरेको र आफु सुप्रिमो हो भन्ने दम्भ रहेको भन्दै उनको आलोचना गरे ।

गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापाले दुवै अध्यक्षको प्रतिवेदनलाई मिलाएर साझा प्रस्ताव तयार गरौ भन्दै उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा कार्यदल गठनको प्रस्ताव राखेका थिए । त्यसमा महासचिव विष्णु पौडेल र ईश्वर पोखरेलले समर्थन जनाएका थिए । तर,सचिवालयका बहुमत सदस्यले त्यसमा विरोध जनाएका थिए । उनिहरुले कार्यदलको औचित्य समाप्त भएको भन्दै जे निर्णय भएपनि स्थायी समितीबाटै गर्नुपर्ने भन्दै उक्त प्रस्ताव अस्विकार गरेका छन् । वादलको प्रस्तावमा उपाध्यक्ष वामदेव गौतमले समेत कार्यदलको काम नभएको भन्दै आफु उक्त कार्यदलमा नबस्ने बताएका थिए ।

प्रधानमन्त्री ओली, गृहमन्त्री थापा, महासचिव वादल र उपप्रधानमन्त्री पोखरेलको असमतिका बावजुद भोली १ बजे स्थायी समितीको बैठकले बोलाउने निर्णय भए पनि प्रधानमन्त्री ओली पक्षीय नेताहरु सहभागी हुने सम्भावना कम भएको स्रोतको दावी छ ।

शुक्रवार साँझ प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच लामो टेलिफोन वार्ता भएको थियो । सचिवालय बैठकअघिसमेत दुवै नेताबीच छलफल भएपछि सचिवालय बैठक सुचारु भएको थियो । तर, वैठकमा नेताहरुबीच बाझाबाझ भएपछि सचिवालय वैठकमा सहमति जुट्न सकेन । नेकपाको सचिवालय समस्या समाधान गर्न असफल भएपछि नेता कार्यकर्ताहरुले सचिवालय खारेज गर्नुपर्ने भन्दै तिव्र असन्तुष्टि जनाइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *