रिबन

ओलीले कांग्रेसलाई ब्यूँझाएकै हुन् ?

प्रधानमन्त्री खड्गप्रसाद ओली पार्टीभित्रैबाट असजिलोमा परेको अवस्थाकै बीचमा विपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा गरेको दुव्र्यवहारका कारण थप आलोच्य भएका छन् । तनहुँको स्थानीय समस्या र विवाद को हो ? पुल उद्घाटन गर्नुपर्ने वा नपर्ने ? पौडेललाई किन आमन्त्रण गरियो ? सत्तारुढ दलकै नेता तथा सांसदले गर्नुपर्ने भन्ने आग्रह जे भए पनि वरिष्ठ तथा कांग्रेसको मात्र होइन, देशकै सम्मानित नेता पूर्वसभामुख एवं उपप्रधानमन्त्री मात्रै भए पनि पूर्वप्रधानमन्त्रीहरूभन्दा कम कद नभएको व्यक्तिमाथि राज्यतर्फबाट गरिएको व्यवहार अमर्यादित र आपत्तिजनक नै थियो । यो व्यवहार स्थानीय प्रशासनको इच्छा, चहाना वा बदलाको भावना मात्रले भएको होइन, प्रधानमन्त्री तहकै निर्देशनमा भएको सूचना सार्वजनिक भइसकेको छ ।

विवादित निर्णय पुल उद्घाटन अन्ततः भव्य समारोहकाबीच सम्पन्न नै भयो । उक्त कार्य गराउन जो चाहन्थ्यो, उनीहरू उत्साहित नै भए होलान् । जो अवरोध पुर्याउन चाहन्थे, उनीहरू निराश भए होलान् । अर्थात् तनहुँमात्र होइन राजनीतिक रूपमा एउटा सन्देश प्रवाह गर्न कांग्रेस देशभर नै सफल भएको छ । सरकारको निरंकुश, स्वेच्छाचारी र अधिनायकवादी प्रवृत्तिमाथि आलोचना व्यापक भएको छ । ओलीसँग असहमत समूहले पनि सरकारको कर्मलाई अलोकतान्त्रिक, बलमिच्याइँ, धम्कीपूर्ण र सांकेतिक भनेको छ । ‘छोरी कुटेर बुहारी तर्साउने’ ओली रणनीति हो भन्ने नेकपाका सदस्यहरूको टिप्पणीले आमरूपमा कांग्रेसलाई ऊर्जा मिलेको होला ।

पौडेल देशकै इमान्दारमध्येका नेता मानिन्छन् । तनहुँमा उनको लामो इतिहास सुरक्षित नै छ । अर्थात् नेपाली राजनीतिमा ओलीको भन्दा राम्रो (सकारात्मक) प्रभाव र बुझाई पौडेलको रहेको छ ।

प्रधानमन्त्रीप्रति जस्तो टिप्पणी पौडेलले गर्नु भो, त्यो उहाँको राजनीतिक उचाइअनुरूपको अभिव्यक्ति होइन । झापाकाण्डमा तत्कालीन मालेहरूले टाउका काटेकै हुन् । व्यक्ति हत्यालाई कम्युनिस्टहरू आफ्नो वैचारिक बताउँछन् । तर, त्यहाँ व्यक्तिगत विषय सन्निहित हुन्छ, रहेको पाइन्छ । राज्यसँगको द्ववद्व वा झगडामा जब निरीह मानिसलाई मोहोरा बनाइन्छ जब त्यसको सामाजिक भावना सकारात्मक हुँदैन । सकारात्मक परिणाम नआएको तीतो अनुभव माओवादीसँग पनि होला । नागरिकले जतिसुकै सहनशीलता देखाए पनि कहिलेकाहीँ अभिव्यक्ति दिँदो रहेछ । पुष्पकमल दाहाल प्रचण्डको छोराको मृत्यु भएको समयमा नागरिक बोलेका थिए कि आफ्नो सन्तानको मृत्युमा कस्तो पीडा हुँदोरहेछ भन्ने दाहालले अनुभूति गरे होलान् । अब यस्तो दिन हामीले देख्न नपरोस्, राजनीतिक नेतृत्वलाई चेतना भया । यस्तो सन्देश दिएका थिए नेपाली नागरिकले दाहालको पीडाको समयमा ।

जनता जनार्दन आफैं कोही कसैमाथि जाइलाग्दैनन्, तर उपयुक्त समयमा उपयुक्त जवाफ वा निर्णय गर्छन् । जनताको निर्णय, चहाना, जवाफ वा अभिमतको सम्मान, इज्जत र आत्मसात गर्न नसक्दा नेपालले इतिहासमा धेरै घटना बेहोर्नुपरेको छ । नेपाली आमाका अनगिन्ती छोराछोरीहरूले बलिदान गर्नुपरेको छ । झन्डै झन्डै तनहुँ घटनामा रगत बग्न खोजेको थियो । राज्यसंयन्त्रले होसियारी नपुर्याउँदा यस्ता घटनाहरू दोहोरिरहन्छन् ।

जनादेश त ओलीलाई नै प्राप्त भएको हो, तर त्यसलाई अवसरमा अनुवाद गर्न नसक्नु उनको असफलता हो । प्रधानमन्त्रीको रूपमा ओली सफल भएको भए पार्टीभित्रबाट भएको आक्रमणको प्रतिकार जनमतबाट हुन्थ्यो, सञ्चार क्षेत्रको गथ्र्यो, नागरिक तहबाट हुन्थ्यो । तर उनले कहीँकतै ठाउँ नै राखेनन् । सबैलाई काबुमा राखेर शासन गर्ने दम्भ ओलीमा सवार भयो । त्यो दम्भ, अहंकार, निरंकुशता, स्वेच्छचारिता र अधिनायवादमा रूपान्तरण हुने सम्भावना विभिन्न घटना सन्दर्भ र विषयबाट उठान भएका छन् ।

प्रारम्भदेखिका विवादास्पद निर्णय, गतिविधि र प्रयासले ओली कमजोर सावित भएका छन् । पार्टीभित्रको शक्ति सन्तुलनमा समेत असफल हुनु शासकीय अक्षमता नै हो ।

मैले जे गरे पनि हुन्छ, अरुले मान्नुपर्छ, १४ वर्ष जेल बसेको प्रमाणपत्र छ त्यसलाई कसले चुनौती दियो ? भन्ने ओलीको अहंकारको जवाफ दिनुपर्ने समय आएको निष्कर्षमा नै पुगेर आफ्नो गृहजिल्ला तनहुँबाट आफ्नो कदभन्दा तल झरेर पौडेलले जवाफ दिएका होलान् । आफूले आफ्नो मर्यादा कायम राख्न नसक्दा यस किसिमका विविध खेल झन्झटहरू बेहोर्न तयार हुनुपर्छ । आन्तरिक कचिंगलमा रुमलिएका ओली पौडेल प्रकरणमा क्षमायाचना नै गर्नुपर्ने क्षणमा उभिएका छन् । पौडेललाई दुव्र्यवहार गरेर माधव नेपाल, पुष्पकमल दाहालहरूप्रति गर्नसक्ने सम्भावित व्यवहार अनुमान गर्न सकिन्छ । बालुवाटार जग्गा प्रकरणको नेता नेपाल सम्बन्धित फाइल खोलिन सक्छ, लडाकुको शिविर व्यवस्थापन तथा भत्तासम्बन्धी अनियमितताको फाइल अख्तियारले तामेलीमा राखेको भए पनि त्यो हेर्न मिल्छ नै । आफ्ना

पार्टीका असन्तुष्टहरूलाई देखाएको डण्डा तनहुँमा पौडेलमाथि बर्सिएको मात्र हो । कांग्रेसले त्यसलाई विषय बनाएर प्रतिपक्षीय भूमिकामाथि लागेको प्रश्न चिन्हको जवाफ दिनसक्छ ।

विपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री ओलीप्रति ज्यादै सकारात्मक भएको आरोप खण्डन गर्ने उपयुक्त अवसर पनि हुन सक्छ । प्रजातान्त्रिक मुलुकमा प्रतिपक्षी दलको नेताका सम्बन्धमा प्रधानमन्त्रीले आफ्नी श्रीमतीको भन्दा बढी जानकारी राख्छन् भन्ने उक्ति छ । यहाँ सम्बन्ध राम्रो भएकोमा चिन्ता र चासो छ । त्यसको कारण के हो भने राज्यले अपेक्षित रूपमा सकारात्मक गति लिन सकेन । जनताको भावना, चाहना र अभिव्यक्तिको सम्मान भएन । त्यसकाप्रति विपक्षी दल आक्रामक हुनेछ भन्ने जनदबाब र आवाज आएको छ । त्यो अवसर तनहुँ घटनाले कांग्रेसलाई प्रदान गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *