रिबन

प्रधानमन्त्री ओलीलाई सिंहदरबार बन्यो विरानो

काठमाडौं । प्रधानमन्त्री केपी ओली विगत दश महिनादेखि नियमित रुपमा सिंहदरवार अनुपस्थित भएका छन् । गएको वर्ष फागुनमा प्रधानमन्त्री ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि उनी मुस्किलले तीनपटक सिंहदरवार पुगे, तर नियमित रुपमै अनुपस्थित भैरहेका छन् ।

उनले गत फागुनमा मिर्गौला फेर्ने तयारी गरिरहेका थिए । त्यो बेला नेपालमा कोरोना संक्रमित फाट्टफुट्ट देखिन थालेका थिए । र, फागुन २१ गते उनी मिर्गौला प्रत्यारोपणका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल छिरे । त्यसयता उनी सिंहदरवारमा पाहुनाजस्तै भए ।

त्यतिबेला काठमाडौमा कोरोना संक्रमण नदेखिएपनि सिमानाका केही जिल्लामा भाइरस संक्रमित बढ्न थालेका थिए। राजधानी काठमाडौं ‘अलर्ट’ थियो । अस्पतालबाट डिस्चार्ज भएर प्रधानमन्त्री निवास बालुवाटारमै उनी ‘आराम’ गर्ने भए । लगत्तै चैत ११ गते सरकारले देशव्यापी लकडाउन घोषणा गर्यो । सारा जनता घरभित्रै थुनिए, प्रधानमन्त्री बाहिर निस्किने कुरै भएन । प्रधानमन्त्री ओलीको फागुन २१ मा मिर्गौला प्रत्यारोपण सफल भएको थियो । र, चिकित्सकहरूले संक्रमण हुनसक्ने भन्दै भेटघाट पातलो गराउन सुझाव दिएका थिए । मिर्गौला प्रत्यारोपण गरेर बालुवाटारमा आराम गरिरहेका ओली त्यसपछि भने सिँहदरबार जानै छाडे ।

मिर्गौला प्रत्यारोपणपछिको ‘आराम’ र ‘कोरोना संक्रमण’ बहाना भए । आफूले काम गर्ने कार्यालय सिँहदरबार नछिरे पनि बालुवाटारमै प्रधानमन्त्रीले आराम भने गरेनन् । लकडाउनकै बीचमा उनको पार्टी नेकपाभित्र विवादहरू निकै चुलिए । त्यो बेला पनि यो संक्रामक महामारीभन्दा उनको प्राथमिकतामा पार्टी नै पर्यो ।

राष्ट्रका नाममा एकाध सम्बोधन पनि उनले बालुवाटारबाटै गरे । बरु, त्यही बेला उनले राजनीतिक दल त्याग र संवैधानिक परिषदको काम कर्तव्यसम्बन्धी अध्यादेश ल्याए । रातारात राष्ट्रपतिबाट स्वीकृत गराए। पछि त्यो फिर्ता पनि भयो ।नेकपा विवाद चर्किरहेकै बेला बरु उनी रातारात नेता वामदेव गौतमको घरमै पुगेर ‘पारिवारिक’ भेटघाट गरे ।

मिर्गौला प्रत्यारोपणपछि फागुन २८ मा कोरोना भाइरसविरुद्ध साझा अभिमत बनाउन आयोजना गरिएको सर्वदलीय बैठकमा सहभागी हुन उनी सिँहदरबार छिरेका थिए । त्यो बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तथा पूरै बालुवाटार परिसर ‘स्यानिटाइज्ड’ गरिएको थियो । त्यसपछि भने उनी सिंहदरबार छिरेका छैनन् । प्रधानमन्त्री ओलीले चैतयता मन्त्रिपरषद बैठक, भेटघाटलगायत बालुवाटारबाट गर्दै आएका छन् ।

सिँहदरबार नछिरे पनि उनी बालुवाटारमै सीमित भने छैनन् । केही समयअघि उनी आफ्नो पार्टी नेकपाको बैठकमा सहभागी हुन पेरिसडाँडा पुगेका थिए ।

विभिन्न सरकारी कार्यक्रममा पनि उनी सहभागी भइरहन्छन । यहीबीचमा प्रधानमन्त्री ओली संखुवासभाको किमाथांका गए । विभिन्न विकास निर्माणका आयोजना निरीक्षण गर्न उनी चिनियाँ सीमाक्षेत्र किमाथांका गए तर सिंहदरवारको प्रशासनिक भवनमा पुग्न सकेनन उनी पाहुनाजस्तै भए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *