काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललार्इ तत्काल रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी दिएको छ । पौडेललाई तनहुँमा प्रहरीले गरेको गिरफ्तारीको भर्त्सना गर्दै कांग्रेसले प्रतिरोधको चेतावनी दिएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता पौडेललाई गिरफ्तार गर्नु सर्वसत्तावादको संकेत भएको बताएका छन् । सभापति देउवाले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल माथी गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ ।’
देउवाले सरकारको कामको भत्सर्ना गर्दै तत्काल पौडेललाई रिहा गर्न माग समेत गरेका छन् । देउवाले रिहा नगरे उत्पन्न हुने परिस्थितिको सामना गर्न चेतावनीसमेत दिएका छन् ।
देउवाले जारी गरेको विज्ञप्तीमा अघि भनिएको छ, ‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटना प्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।’





