काठमाडौं । नेकपाको सचिवालय बैठक आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्री केपी ओलीको कार्यव्यस्तताका कारण निर्धारित मिति १ बजे बस्न नसकेको र २ बजेलाई सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
‘पार्टी सचिवालयको बैठक प्रधानमन्त्रीज्यूको कार्यव्यस्ततालाई समेत मध्यनजर गरी पूर्वघोषित १ बजेको सट्टा सहमतिमै आज २ बजे सरेको छ,’ थापाले भने ।
आफू निकट नेताहरूसँगको परामर्शपछि ओली सचिवालय बैठकमा बस्न राजी भएका हुन् । ओलीले मंगलबारकै सचिवालय बैठकमा आफू बुधबारको बैठकमा सहभागी नहुने घोषणा गरेका थिए ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह भने कुनै पनि हालतमा आजै बैठक राख्ने तयारीमा जुटेको थियो । बिहीबार स्थायी कमिटी बैठक बोलाइएकाले एजेन्डा तय गर्न पनि आज सचिवालय बैठक बस्नै पर्ने प्रचण्ड समूहको अडान छ ।




