काठमाडौं । शनिबार दिउँसो सत्तारुढ नेकपाको बहुप्रतीक्षित सचिवालय बैठक बस्दैछ । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको हो ।
नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवादहीनताकै अवस्थामा सचिवालय बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने कार्यसूची छ । उनले ४० पृष्ठ लामो राजनीतिक प्रस्ताव पेस गर्ने बताइएको छ ।
आफू निकट सचिवालय र स्थायी कमिटी सदस्यहरुसँग छलफल गरी ओलीले प्रतिवेदन तयार गरेका हुन् । प्रतिवेदन लेखनको काम लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गरेका हुन् । उनले तयार पारेको प्रतिवेदनलाई ओलीले सचिवालय सदस्यहरुसँग छलफल गरेका हुन् ।
ओलीले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनको जवाफ दिने कार्यसूची छ । प्रचण्डले ओलीलाई पार्टी पद्धति र विधानअनुरुप नचलाएको आरोप लगाएका छन् ।
राजदूत नियुक्ति, मन्त्रीपरिषदमा हेरफेर, कर्णाली विवाद, भारतीय जासुसी संस्थाका प्रमुखको नेपाल भ्रमणलगायत विषयलाई लिएर नेकपामा विवाद छ ।
आज ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि नेकपामा दुई अध्यक्षका राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछन् । जसले नेकपामा थप विवाद बढाउने निश्चित छ । यदि नेकपा सचिवालय बैठकमा प्रचण्ड पक्षको बहुमत भएको अवस्थामा ओलीको प्रतिवेदन अस्वीकृत र प्रचण्डको पास हुनेछ । त्यस्तो भएमा ओलीलाई नैतिक संकट आइपर्नेछ ।




