काठमाडौं । भारतीय विदेश सचिव दुई दिने नेपाल भ्रमण सकेर फर्केलगत्तै नेपाल आइपुग्ने चिनियां रक्षामन्त्री वेई फङ्गह काठमाडौंमा भव्य स्वागत गर्ने तयारी भइरहेको छ ।
परराष्ट्र स्रोतकाअनुसार चिनियां रक्षामन्त्री वेईको मंसीर १४ गते आइतबार बिहान ११ बजेतिर त्रिभुवन विमानस्थलमा ओर्लने कार्यक्रम छ । उनी त्यहांबाट सोझै बालुवाटारस्थित चिनियाँ दूतावास जानेछन् । जहाँ चिनियाँ दूतावासले आयोजना गरेको द्विदेशीय सहयोग समन्वयको बृहत कार्यक्रममा उनि सहभागी हुनेछन् ।
त्यसपछि उनले सैनिक मुख्यालय पुगेर नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग पहिलो भेटवार्ता गर्नेछन् । नेपाली सेनाले उनको भ्रमणको तयारीको लागी चीनबाट नेशनल डिफेन्स कोर्स गरेका उपरथी बालकृष्ण कार्कीलाई खटाइसकेको छ ।
तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले सन् २०१९ को अक्टोबरमा चीनको भ्रमण गरेका थिए । उनको भ्रमणका बेला १ सय ५० मिलियन चिनियां आरएमबी बराबरको सैन्य सहयोग नेपाली सेनालाई दिने सहमतिमा हस्ताक्षर समेत भएको थियो । त्यसपछि गत जुलाईमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको समेत चीन भ्रमण भएको थियो । त्यसैको निरन्तरतास्वरुप चीनबाट उच्चस्तरको भ्रमण हुन लागेको हो । तत्कालिन रक्षामन्त्री पोखरेलले उनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
चीनले कोभिड १९ को बेला नेपाली सेनालाई केही सहयोग सामाग्री हस्तान्तरण गरेको थियो । यो भ्रमणमा बाँकी सहयोगलाई अघि बढाउने विषयमा नेपाली सेनाले चिनियां रक्षामन्त्रीसंग छलफल गर्ने तयारी गरेको छ । त्यसका साथै कोभिड १९ को कारण अवरुद्ध तालिम र अन्य सैनिक सहयोगलाई सुचारु गर्ने विषय समेत प्रधानसेनापति थापाले भेटमा उठाउनेछन् । कोभिडको कारण नेपाली सेनाका अधिकृत चीन जान र चिनियाँ जनमुक्ति सेनाका अधिकृतहरु नेपाल आउने क्रम रोकिएको छ ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले चिनियां रक्षामन्त्रीसंगको भेटमा द्धिपक्षिय सैनिक सहयोग र सहकार्यलाई सुचारु गर्ने विषयमा छलफल केन्द्रित हुने जानकारी दिए । ‘उहाँसंगको छलफल मुख्यगरी कोभिडको कारण रोकिएका सैनिक सहयोग र सहकार्यलाई सुचारु गर्ने र द्धिपक्षिय सम्बन्धलाई मजबूत बनाउनेमा केन्द्रित हुन्छ’, उनले भने । चिनियां रक्षामन्त्री वेइलाई सैनिक मुख्यालय भ्रदकालिमै ‘गार्ड अफ अनर’ प्रदान गर्ने सेनाको तयारी समेत छ ।
चिनियां रक्षामन्त्री वेइ एक दिने भ्रमणको लागी नेपाल आउंदैछन् । उनले नेपाल भ्रमणको क्रममा प्रधानसेनापति थापासंगै राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गर्नेछन् ।
दिउँसो २ बजेपछि मात्र चिनियां रक्षामन्त्री वेइको औपचारिक भेटघाट सुरु हुनेछ । उनी राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली र प्रधानसेनापति थापालाई भेटेपछि सोझै विमानस्थल जाने कार्यक्रम छ ।
नेपालबाटै वेई बंगलादेश र त्यसपछि पाकिस्तान भ्रमणमा जानेछन् । उनको भ्रमणमा आपसी सुरक्षा समन्वयका विविध विषयका साथै द्धिपक्षिय हितका विषयमा छलफल हुनेछ । वेइको भ्रमणबारे आजै परराष्ट्रमन्त्रालयले विज्ञप्ती जारी गरेर औपचारीक जानकारी दिने कार्यक्रम छ ।
चिनियां राष्ट्रपति सी चिनफिंगले गत वर्षको अक्टोबर १२–१३ मा नेपालको भ्रमण गरेका थिए । त्यसयता चीनबाट उच्चस्तरिय भ्रमण भएको छैन् । चीनको स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्री फेङ्हे चिनियां राष्ट्रपतिको भ्रमणपछि नेपाल आउने पहिलो उच्च चिनियां अधिकारी हुनेछन् । उनि चिनियां राष्ट्रपतिका विश्वासिला नेता हुनुका साथै पहिलो नम्बरका स्टेट काउन्सिलरसमेत हुन् ।




