काठमाडौं । नेपाल भारत सम्बन्ध सुधार हुनेक्रममा आज भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगला दुई दिने भ्रमणका लागि नेपाल आउँदैछन् । दस महिनाअघि भारतको विदेशसचिव बनेपछि उनी पहिलो पटक नेपालको भ्रमणमा आउन लागेका हुन् । उनी आएसँगै नेपाल भारत सम्बन्धमा सुधार हुने अपेक्षा गरिएको छ । तर विदेश सचिवले कालापानी लगायतको सीमा क्षेत्रको वार्ता गर्न भने भारतले अस्वीकार गरेपछि अहिले त्यससम्बन्धमा कुनै एजेण्डा बनाइएको छैन ।
उनले विदेशसचिव बनेपछि अन्य छिमेकी देशहरु भुटान, बंगलादेश र माल्दिभ्सको भ्रमण भने गरिसके भएपनि नेपाल आएका थिएनन । यसअघि कात्तिकको पहिलो साता भारतको वाह्य गुप्तचार एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ्स ९रअ०का प्रमुख सामन्तकुमार गोयल र कात्तिकको तेस्रो साता भारतकै स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गरेका थिए ।
श्रृंगलाले दुई दिन काठमाडौंमा रहँदा आफ्ना समकक्षी परराष्ट्रसचिव भरतराज पौड्यालसँग द्वीपक्षीय वार्ता गर्ने कार्यतालिका रहेको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार यो मैत्रीपूर्ण भ्रमण मात्रै हो । कुनै निश्चित एजेण्डामा वार्ता गर्नका लागि गरिएको भ्रमण होइन । तर पनि वार्तामा नेपाल–भारत द्विपक्षीय चासोका सबै विषय उठ्ने संभावना रहेको छ ।
नेपाल भारतबीच सीमा बिबादका कारण सम्बन्ध नै तिक्ततापूर्ण भएका बेला भारतीय विदेशसचिवको भ्रमण हुन लागेकाले यसलाई निकै चासोका साथ हेरिएको छ । भारतले अतिक्रमण गरेको लिम्पियाधुरासहितको नेपाली क्षेत्रलाई समेत समेटेर गत नोभेम्बरमा नक्सा जारी गरेपछि नेपालले कुटनीतिक नोट पठाउँदै विरोध गरेको थियो ।
नेपालले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भूभाग समेटिएको नक्सा सार्वजनिक गरी विरोध गरेको थियो । दुई देशबीच सीमा विवादले गम्भीर रुप लिएपछि नेपाले परराष्ट्र सचिवस्तरीय द्विपक्षीय संयन्त्रको बैठक राख्न निरन्तर प्रस्ताव गरेको थियो । तर भारतले कोरोना महामारीको कारण देखाएर त्यस विषयलाई पछि सार्दै आयो ।




