रिबन

विप्लवको घोषणा, सरकारसँग वार्ता गर्न अहिले पनि तयार छौं

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो पार्टी अहिले पनि सरकारसँग वार्ता गर्न तयार रहेको जनाएका छन् । नेकपा पुनर्गठन दिवसको अवसरमा आफू निकट अनलाइन इरातोखबरलाई विशेष अन्तर्वार्ता दिँदै विप्लवले आफ्नो पार्टी र जनताले उठाएको आवास राज्यले सुनेमा अहिले पनि सरकारसँग वार्ता गर्न तयार रहेको जनाएका हुन् । उनले आफ्नो पार्टी भूमिगत नभई अहिले पनि खुलामञ्चमा आउन तयार रहेको बताएका छन् ।

‘जनता कहाँ असन्तुष्ट छन् भन्ने कुरा राज्यले सुन्नुपर्‍यो। हामीले जनताका कुरा उठाएका हौं। के गर्दा जनता खुसी हुन्छन् भन्ने त राज्यले सुन्नुपर्‍यो,’ उनले भने, ‘राज्यले जनताका कुरा नसुन्ने अनि हामीलाई वार्ताको पक्षमा छैन भनेर भन्न कसरी कुरा मिल्यो ?’ सरकारले प्रतिवन्ध लगाएपछि पनि आफूहरू वार्ताकै पक्षमा रहेको उनको भनाइ छ ।

‘प्रतिवन्धपछि पनि सुदर्शनलगायत कमरेडसँग पुगेर वार्ता गरौं भनेका छौं। तर वार्तालाई षड्यन्त्रका रूपमा प्रयोग गर्न भएन नि,’ उनले भने, ‘राज्य कस्तो देखिन्छ भने सिके राउतजस्तो बनाउने रे। नेपाल कम्युनिष्ट पार्टी त्यस्तो हुन्न । कसैले दिल्ली लगेर वार्ता गराउन चाहला प्रचण्ड, बाबुराममात्रै हुन्छ त्यस्तो। यो कुरा सबैले बुझे हुन्छ। अहिलेको सत्तामा घुमाउन खोज्ने, त्यो उनीहरूका लागि हुन्छ नेपाल कम्युनिष्ट पार्टीलाई हुन्न, नेपाली जनताको हितलाई केन्द्रमा राखेर वार्ता हुने हो।’

विप्लवले आफूहरू जहिल्यै वार्ताको पक्षमा रहे पनि सरकारले चासो नराखेको आरोप लगाए । ‘वार्तामा नेपाल कम्युनिष्ट पार्टीले रूचि राखेन। यो भ्रामक कुरा हो। जनतालाई भ्रमित पार्ने कुरा हो। त्यो सत्य कुरा होइन,’ विप्लवले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *