मुख्य समाचार

ओलीलाई खुसी पार्न अन्य नेतालाई बदनाम नगर्न वामदेव गौतमको चेतावनी

काठमाडौं । सत्तारुढ नेकपामा १० दिनका लागि ‘युद्धविराम’ भए पनि किचलो साम्य हुने संकेत देखिएको छैन । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको आरोप पत्र पढेर जवाफ दिन प्रधानमन्त्री केपी ओलीले १० दिनको समय माग गरेपछि मंसिर १३ गतेसम्मका लागि बैठक स्थगित भएको हो ।
तर, बुधबारको सचिवालय बैठकमा नेकपा उपाध्यक्ष वामदेव गौतमले ओलीलाई साथ दिएको र प्रचण्डको प्रस्तावविरुद्ध भएको चर्चा चलाइएपछि गौतम आक्रोशित भएका हुन् । ओली गुटबाट यस्तो प्रचार गरेपछि उनले ओलीलाई खुसी पार्न अन्य नेताको बदनाम नगर्न उनले चेतावनी दिएका हुन् ।
गौतमको सचिवालयले विज्ञप्ति निकालेर ओलीलाई खुशी पार्ने नाममा अरु नेताको बद्नामी गर्ने, भ्रम सिर्जना गर्दै अरु नेताको बदख्वाइँ गर्ने काम गरिएको भन्दै कडा आपत्ति जनाएको हो।अहिले ओलीलाई हावामा उडाएर सुन्दर राजनीतिक जीवनमा क्षति पुर्याउने काम भैरहेको गौतमको ठहर छ।

गौतमले प्रचण्डले सचिवालयमा पेश गरेको प्रस्ताव फिर्ता हुनुपर्ने पक्षमा आफू नरहेको प्रष्ट पार्दै प्रचण्डको प्रस्तावलाई नेकपाका समस्त एकताप्रेमी, परिवर्तनकामी एवं विधि र पद्धति पक्षधर नेता–कार्यकर्ताको सामूहिक आवाज भनेका छन्। आफ्नोसमेत सहमतिमा आएको प्रस्ताव कुनै हालतमा फिर्ता गर्न नहुने गौतमले बताएका छन् । उनले लेखेका छन्,


केही भ्रमहरु छरिएका प्रति हाम्रो गम्भीर आपत्ति छ ।
नेकपा उपाध्यक्ष क।वामदेव गौतमले अध्यक्ष क।प्रचण्डका प्रस्ताव फिर्ता हुनुपर्ने जस्ता कुरा आजको सचिवालय बैठकमा राख्नुभयो भनी केही न्युज पोर्टलहरुमा आएका समाचार पूर्णतः झुठो हो, गोयवल्स शैलीको छ ।
आजको सचिवालय बैठकलाई सौहाद्रतापूर्ण तवरले सञ्चालन गर्नुपर्ने चुनौति थियो । आज क।प्रचण्डको प्रस्तावमाथि छलफल गर्ने भन्ने कुनै एजेण्डा पनि थिएन । त्यसकारण वामदेव कमरेडलगायतका अन्य नेता कमरेडहरुले सौहाद्रतालाई ख्याल गर्दै कुनै किसिमको उत्तेजक अभिव्यक्ति आजको बैठकमा दिनुभएन । तर, समाचारहरुमा चर्काचर्की भयो, धम्साधम्सी भयो भन्दैभन्दै क।वामदेव गौतमले प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने कुरा गरेकोसम्मका कपोलकल्पित कुरा आए । वास्तवमा आजको बैठकमा त्यस किसिमका कुनै कुरा उठेका छैनन् । अध्यक्ष तथा प्रधानमन्त्री क।केपी शर्मा ओलीले आफ्नो तर्फबाट पनि प्रस्ताव दर्ज गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएपछि बैठकको सौहाद्रतामा अझ बल पुगेको थियो ।
क।प्रचण्डले पेश गर्नुभएका प्रस्तावहरु क।वामदेव गौतमको समेत सहमतिमा आएको र त्यसलाई कुनै हालतमा फिर्ता गरिनुहुँदैन भन्ने कुरामा उहाँ सतिसालझैँ अडिग हुनुहुन्छ । यसबीचमा सम्माननीय राष्ट्रपति, प्रधानमन्त्रीहरुसँगको भेटमा पनि उहाँले यो कुरा व्यक्त गरिसक्नुभएको छ । प्रचण्डले पेश गर्नुभएका प्रस्तावहरु नेकपाका समस्त एकताप्रेमी, परिवर्तनकामी एवं विधि र पद्धति पक्षधर नेता–कार्यकर्ताको सामूहिक आवाज हो । क।केपी ओलीलाई धरातीय यथार्थबाट माथि ९हावामा० उडाएर उहाँको सुन्दर राजनीतिक जीवनमा क्षति पुर्याउने काम तुरुन्त रोकियोस् । उहाँलाई खुशी पार्ने नाममा अरु नेताको बद्नामी गर्ने, भ्रम सिर्जना गर्दै अरु नेताको बदख्वाइँ गर्ने काम पनि तत्काल बन्द गरियोस् ।
क।वामदेव गौतमको सचिवालय
भैसेपाटी, ललितपुर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *