शिक्षा / स्वास्थ्य

चिसोले नेपालमा कोभिड झन् तीव्र फैलिने जोखिम, ५० प्रतिशतले घट्यो पिसिआर परीक्षण

काठमाडौं । नेपालमा गत वर्षको भन्दा यस वर्ष चिसो चाँडै आएको छ । अघिल्लो वर्षको कात्तिकमा त्यति धेरै चिसो महसुस भएको थिएन । तर, यसपालि भने कात्तिक सुरुदेखि नै देशभरको मौसम चिसो भएको छ ।

कोरोना भाइरस र चिसोबीच आपसमा के सम्बन्ध छ भन्ने विषयमा वैज्ञानिकहरू नै एकमत छैनन् । तर, प्राकृतिक प्रकोप र वातावरणबीच आपसमा सम्बन्ध देखिँदै आएको छ । कोरोना पनि प्राकृतिक प्रकोप नै हो । एक वर्षको अवधिमै साढे १२ लाखभन्दा बढी मानिसको मृत्यु भाइरस लागेर हुनु सामान्य विषय होइन ।

कोरोना महामारीको समयमा यसपटक नेपालमा गर्मी मौसममा मानिसले त्यति तातो महसुस गरेको देखिएन । नेपालमा चैत, वैशाख र जेठ अत्यधिक गर्मी हुन्छ । तर, यसपटक यो तीन महिना पानी परिरह्यो । जसका कारण जमिन तात्न पाएन ।

यसपटक असोज नलाग्दै चिसो महसुस भयो । कात्तिकमा त काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसभन्दा कम भइसकेको छ । अहिले पनि तापक्रम घट्ने क्रम जारी छ । त्यसैले नेपालमा जाडो मौसममा कोरोना भाइरस झन् तीव्र हुन सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन् ।

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन पनि यो विषयमा सहमत छन् । उनले जाडोमा मौसमी फ्लु र कोरोना भाइरसको धेरै जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । अलिकति पनि हुने लापरवाहीले कोरोना संक्रमण हुने उनको भनाइ छ ।

डा.समीरमणि दीक्षित त नेपालमा कोरोनाको पिसिआर परीक्षण घट्नु र चिसो मौसम सुरु हुनुले आगामी दिन त्यति सहन नहुने तर्क गर्छन् । त्यसैले पिसिआर परीक्षणको दायरा बढाएर कन्ट्याक्ट ट्रेसिङ सुरु नगरे काठमाडौं उपत्यकामा स्थिति काबु बाहिर जाने उनको अनुमान छ ।

केही अघिसम्म नेपालमा दैनिक पिसिआर परीक्षण २० हजारभन्दा बढी हुने गरेको थियो । अहिले ५० प्रतिशत पिसिआर परीक्षण हुने गरेको छ । १०–१२ हजारको परीक्षण गर्दा तीनदेखि चार हजारमा संक्रमण देखिनु निकै भयावह भएको तर्क चिकित्सकहरूको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *