मुख्य समाचार

नेकपाको आन्तरिक विवादमा राष्ट्रपतिको लामो हात

काठमाडौं । सत्तारुढ दलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद चर्कदै गएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले विवाद सुल्झाउने नाममा लामो हात गर्न थालेकी छिन् । सत्तारुढ दलमा संकट आइपरेपछि उनले पार्टीका शीर्ष नेताहरुदेखि दोस्रो तहका नेताहरुलाई समेत बोलाएर विवाद समाधान गर्न आग्रह गर्दै आएकी छिन् ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्धय माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरु पार्टी निर्णय कार्यान्वयनका सवालमा फेरी पनि पार्टी बैठकबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिनुपर्ने बताइरहेका बेला एकता सातामै तीन नेतालाई भेटघाट गरेकी छिन् । पार्टीका उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा र उर्जामन्त्री वर्षमान पुनलाई बोलाएर आन्तरिक विवाद बारे चासो राखिन । उनले विवाद मिलाउन अग्रसरता लिनु समेत आग्रह गरेकी थिइन । नेकपामा कुनैपनि प्रकारको विवाद नहँुदा चुपचाप बस्ने राष्ट्रपति भण्डारी जब पार्टीभित्र अप्ठयारो र संकट आईलाग्छ त्यतिबेला मात्रै नेताहरुलाई शितल निवासमा बोलाएर प्रभावित गर्ने गरेको आरोप लाग्दै आएको छ ।

राष्ट्रपति भण्डारी यसैसाता नेकपाका सचिवालयका दुई नेतालाई शितल निवासमा बोलाएर पार्टीभित्रको विवादबारे चासो मात्रै राखिन् । त्यस्तै स्थायी कमिटी सदस्य एवं उर्जामन्त्री पुनसँग पनि भेटेर विवादबारे छलफल गरेकी थिइन । मंगलबार उनले उपाध्यक्ष वामदेव गौतमलाई आफैले टेलिफोन गरेर बोलाई भेट गरेकी थिइन् भने बुधबार प्रधानमन्त्री ओलीसँगको भेटघाटपछि गृहमन्त्री समेत रहेका सचिवालय सदस्य थापालाई बोलाएर छलफल गरेकी हुन् भने शुक्रबार विहान उर्जामन्त्री पुनलाई बोलाएकी थिइन । बादललाई पनि उनले आफै टेलिफोन गरेर भेट्न बोलाएकी हुन् ।

राष्ट्रपतिले भेट्न बोलाएपछि अघिल्लो र पछिल्लो दिनमा शितल निवास पुगेका गौतम र थापाले आफुले सक्दो पार्टी एकता जोगाउन भूमिका खेल्ने भन्दै फर्किएका थिए । नेकपामा आन्तरिक विवाद चर्कदा पार्टीका सचिवालय सदस्यलाई पालै पालो भेट गरेकी छिन् । सत्तारुढ दल नेकपामा प्रधानमन्त्री ओली स्वेच्छाचारि ढंगबाट सरकार र पार्टी सञ्चालन गर्न खोजेको भन्दै उनी विरुद्ध सचिवालय सदस्यहरुले मोर्चाबन्दी गरिरहेका बेला पार्टीका उपाध्यक्ष गौतम र गृहमन्त्री थापा र पुनलाई बोलाउनुमा अर्थपूर्ण मानिएको छ । गौतमलाई शितल निवास बोलाएको समाचार बाहिर आएपनि गृहमन्त्री थापा र पुनलाई बोलाएको समाचार भने बाहिर आएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *