काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे आफ्नो तीनदिने नेपाल भ्रमणको क्रममा माउण्टेन फ्लाइटमार्फत सोलुखुम्बु जाने भएका छन् । शुक्रवार विहान उनि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका जाने अनौपचारीक कार्यक्रम तय गरिएको सैनिक स्रोतले जनाएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको होटल एभरेष्ट भ्यू बाट नरवणेले सर्वोच्च शिखर सगरमाथाको दृश्य अवलोकन गर्ने सैन्य स्रोतले जनाएको छ । होटल एभरेष्ट भ्यूमा ब्रेकफास्ट कार्यक्रम राखिएको छ । जापानी नागरिकले बनाएको सो होटल समुन्द्री सतहबाट ३ हजार ८ सय ८० मिटर८ अग्लो ठाउँमा छ ।
त्यहाँबाट सगरमाथा नजिक देखिन्छ । छोटो सयम दृश्यावलोकन पछि उनी नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं फर्कनेछन् । खुम्बु पासाङल्हामु गाउँपालिका–५ को नाम्चेबजार बाट पैदल हिँडेर सो होटलमा करिब १ घण्टामा पुगिन्छ । नरवणेको सोलुखुम्बु भ्रमणको कार्यक्रम नेपाली सेनाले सार्वजनिक गरेको छैन ।




