मुख्य समाचार

संक्रमितको शव परिवारले नै व्यवस्थापन गर्न पाउने

काठमाडौं । कोरोना भाइरसको संक्रमणले मृत्यु भएका व्यक्तिको शब अब परिवारका सदस्यले नै व्यवस्थापन गर्न पाउने भएका छन् । संक्रमित व्यक्तिको शब परिवारले नै गर्न पाउने निर्णय सरकारले गरेको हो । नेपाली सेनाको टोली नपुगेको ठाउँमा कोरोना भाइरस संक्रमितको शव परिवारका सदस्य आफैंले पनि व्यवस्थापन गर्न सक्ने छन् ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले कोभिड–१९ संक्रमितको शव व्यवस्थापन परिवारका सदस्य आफैंले पनि गर्न सक्ने गरी नीति परिवर्तन गरिएको जानकारी दिएका थिए ।

‘कोभिड–१९ को संक्रमण भइ घरकै आइसोलेसनमा मृत्यु भएमा गरिने व्यवस्थापनमा केही अलमल भएको छ। धेरै प्रश्‍न पनि उठेका छन्’, प्रवक्ता गौतमले भने, ‘धेरै धार्मिक समुदायले आफ्नै संस्कृति अनुसार दाहसंस्कार गर्न पाउनुपर्ने माग गरेका छन्। आफ्नो धर्म संस्कृति अनुसार व्यवस्थापन गर्न सक्नेलाई हामीले बाटो खोलिदिएका हौं। ‘

गौतमले मृत शरीरबाट कोरोना रोग सर्ने सम्भावना कम हुने बताए। तर पनि शव व्यवस्थापनमा उच्च साबधानी अपनाउन उनले आग्रह गरे । कोरोना थुकबाट सर्छ, मृतकले थुक निकाल्ने कुरा भएन। शरीरबाट निस्केको झोल पदार्थसँग सतर्क रहँदै शव व्यवस्थापन गर्न सकिन्छ। तर मास्क र पञ्‍जाको व्यवस्था अनिवार्य हुनुपर्छ’, प्रवक्ता गौतमले भने ।

हाल नेपाली सेनाले गरिरहेको शव व्यवस्थापन कार्य पनि निरन्तर रहने उनको भनाइ थियो । नेपाली सेना नपुगेको अवस्थामा तथा परिवारले आफैं दाहसंस्कार गर्छु भनेको खण्डमा मात्र उनीहरुलाई जिम्मा दिइने उनले बताए ।
उनले भने, ‘सरकारले शव व्यवस्थापन गर्दैन भन्‍ने कुरा हल्ला मात्रै हो।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *