मुख्य समाचार

सिङ्ग हेर्नुस् खसी किन्नुस् !

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वस्थ खसी–बोका चिनेर मात्रै खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ । महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा. अवधेश झाले बजारमा आनुगमन गरी स्वस्थ र अस्वस्थ खसी–बोका छुट्याइएकोले चिनेर मात्रै खरिद गर्न आग्रह गरेका छन् ।

स्वस्थ खसी बोकाको सिङमा हरियो रङ र अस्वस्थको रातो रङ लगाइएको डा. झाले बताए । उपभोक्ताले हरियो रङ लगाइएको खसी–बोका र च्यांग्रामात्रै खरिद गर्नुपर्ने उनले सुझाव दिए । उपत्यकाका खसी–बोका बजारमा नियमित अनुगमन गरी महानगरपालिकाले स्वस्थ र अस्वस्थ पहिचान गर्दै हरियो र रातो रङ लगाइ छुट्ट्याएको छ ।

पशुको तापक्रम नाप्ने, नाकबाट सिँगान बगे–नबगेको, पखला लागे–नलागेको, झोक्राएर बसे–नबसेको हेरेर स्वस्थ र अस्वस्थ पशु छुट्ट्याउने गरिएको छ ।

चेकजाँचको क्रममा अस्वस्थ भएको पाइए छुट्टै आइसोलेसनमा राखेर उपचार गर्न लगाइएको पनि उनले बताए । दसैंको बेला काठमाडौंका खसी–बोका बजारमा देशका विभिन्न स्थान तथा भारतदेखिसमेत खसी–बोका र च्यांग्रा ल्याइ बिक्री–वितरण सुरु भइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *