जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना संक्रमणबाट हुने मृत्युदर बढ्नसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । डब्लुएचओका प्रमुख बैज्ञानिक सौम्या स्वामीनाथनले संक्रमणका गम्भीर बिरामीको संख्या बढ्दै जानु र आईसीयू भरिँदै जानुले चिन्ता बढेको बताएका हुन् ।
संक्रमण दर तीब्ररुपमा बढ्दै जादा मृत्यु दरमा समेत वृद्धि हुनसक्ने उनको भनाइ छ । विश्वमा अप्रिल यता दैनिक मृत्युदर ५ हजार हाराहारीमा झरे पनि पछिल्लो समय संक्रमणका गम्भीर बिरामीको संख्या बढ्दै गएको डब्लुएचओले जनाएको छ । विश्वभर कोरोनावाट हालसम्म ३ करोड ८४ लाख २६ हजार बढी संक्रमित भएका छन् । १० लाख ९१ हजार भन्दा बढीको मृत्यु भएको छ ।
भारतमा कोरोना संक्रमित ७३ लाख पुगे
भारतमा कोरोनाभाइरस संक्रमणबाट पछिल्लो चौबीस घण्टामा ६८० जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कूल संक्रमितको संख्या ७३ लाख ७ हजार नाघेको छ ।
पछिल्लो चौबीस घण्टामा भारतमा ६७ हजार ७०८ जना नयाँ संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार हाल ८ लाख १२ हजार ३९० जना सक्रिय संक्रमित अवस्थामा छन् भने ६३ लाख ८३ हजार ४४२ जना निको भएका छन् ।
कोरोना संक्रमितको निको हुने दर भारतमा निकै उत्साहप्रद रहे पनि हालसम्म १ लाख ११ हजार २६६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।




