निक्कै लामो रस्साकसीपछि प्रधानमन्त्री केपी शर्मा ओलीले १२ औं पटक मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । यो पुनगर्ठन अपेक्षित नै थियो, तर सर्वसाधारणले अनुमान गरेविपरित मन्त्रिमण्डलमा नयाँ अनुहार आए । अर्थमन्त्री बनेका विष्णु पौडेलले प्रदेश राजधानीसँग साटेको चर्चा पहिलेदेखि चलेको थियो । तर त्यो अहिले प्रमाणित भयो ।
माओवादी पक्षबाट मन्त्रालयको दाबी गर्ने, राजदूतको सिफारिस गर्ने र संवैधानिक आयोगमा नियुक्ति दिने व्यक्तिको लिस्ट बोकेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दैनिक बालुवाटार पुग्थे । प्रधानमन्त्रीसँगै बसेर कालो चिया खान्थे । फलानो मन्त्रालय, राजदूत र संवैधानिक आयोगमा नियुक्त गर्नुपर्ने व्यक्तिको नामावली देखाउँथे ।
प्रधानमन्त्री ओलीले उनको कुरा सुन्दैन थिए, चियासँगै प्रधानमन्त्री ओलीको एक दुईवटा जोक्स सुनेर प्रचण्ड आफ्नो निवास सातदोबाटो फर्कदा रहेछन् भन्ने कुरा बुधबार साँझ भएको मन्त्रिमण्डलको पुनर्गठनले प्रमाणित गरेको छ ।
ओली र प्रचण्ड दुवै नेकपाका अध्यक्ष हुन् । दुवै अध्यक्ष भएपछि पावर सेरिङको कुरो आउँछ । तर, पार्टी एकीकरण हुनुभन्दा अघि र पछि प्रधानमन्त्री ओलीले प्रचण्डको एउटा सर्त पनि मानेको नजिर छैन । राज्य सञ्जालमा आफ्ना सहयोगीबाहेक अरु कसैको कुरा प्रधानमन्त्री ओलीले सुन्दा रहेनछन् भन्ने प्रमाणित भएको छ । पार्टीमा अध्यक्ष प्रचण्डको औकात कति हो भन्ने छर्लङ भएको छ ।
आफ्ना सहयोगीको सल्लाहमा गरिएको यो निर्णयविरुद्ध अध्यक्ष प्रचण्ड चूसम्म पनि बोल्न सक्दैनन । भोलिका दिनमा बोलिहाले पनि फेस सेभिङका लागि जिब्रो चपाएर बल्नेछन् । भोलिका दिनमा अध्यक्ष प्रचण्ड कसरी प्रस्तुत हुन्छन् त्यो देखिने नै छ ।
पार्टीभित्र अध्यक्ष पद सम्हाले पनि प्रचण्ड कति निरीह रहेछन भन्ने कुरा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध ल्याइएको अविश्वास प्रस्तावले पनि देखाएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी बद्नाम हुनेबाट बचाउनलाई प्रचण्डलाई साथ नदिएको भए पनि दशैं अघि नै कर्णाली प्रदेशको मुख्यमन्त्री फेरिन्थ्यो । यो घटनाको मूल दृश्य टुंगोमा नपुगेकाले अझै केही भन्न सक्ने अवस्था छैन ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली आफू हिड्ने बाटो क्लियर गर्दै गएका छन् । उनले मन्त्रीका आकांक्षी बामदेव गौतमलाई अदालतको हाउगुजी देखाएर पेन्डुलम बनाएर राखेका छन् भने ईश्वर पोखरेललाई बालुवाटारमा थन्काएका छन् । पार्टी वरिष्ठ नेता माधवकुमार नेपाललाई आफूपछि नेताका रुपमा ओलीले अघि सारेपछि ओलीलाई माओवादीका कुनै पनि नेतालाई महत्वहीन ठानेका छन् ।




