काठमाडौं । कर्णाली प्रदेशमा देखिएको राजनीतिक संकट तत्कालका लागि अन्त्य भएको छ । सत्तारुढ दलबाटै दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल पक्ष र माओवादीका ३ जनाले समर्थन फिर्ता लिएपछि तत्कालका लागि संकट अन्त्य भएको हो । यता प्रधानमन्त्री केपी शर्मा ओली पक्षको तर्फबाट सुवास नेम्वाङले विश्वास प्रस्ताव फिर्ता लिन आग्रह गरेको बुझिएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको दूत बनेर गएका केन्द्रीय सदस्य नीरज आचार्यले अविश्वास प्रस्तावको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन सांसदहरुलाई मनाएका थिए । आइतबार मुख्यमन्त्री शाहीलाई नेकपा प्रदेश संसदीय दलको नेताबाट हटाउन भन्दै वरिष्ठ नेता माधव नेपालसमूहका सातजना प्रदेश सदस्यले अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेका थिए ।
नेपाल पक्षीय प्रदेश सभा सदस्यहरु भने हस्ताक्षर फिर्ता लिन सहमत भइसकेको एक प्रदेश सदस्यले जानकारी दिए । नेपाल पक्षका सांसदहरु आज असन्तुष्ट पक्षले बोलाएको संसदीय दलको बैठकमा समेत सहभागी भएनन् ।
शाहीविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि अध्यक्ष पुष्पकमल दाहालले नेता माधवकुमार नेपाल र प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई भेटेर समस्या समाधानका लागि आग्रह गरेका थिए ।
दाहाललले नेता नेपालसँग भेटेर कुरा गरेपछि नेपालले नेकपाका केन्द्रीय सदस्य नीरज आचार्यलाई समस्या समाधान गर्न सुर्खेत पठाएका थिए । नेता आचार्यले सुर्खेत पुगेर हस्ताक्षरकर्ता नेता नेपाल पक्षधरका सांसदहरूसँग छलफल गरेका थिए ।




