काठमाडौं । चाडवाड नजिकिए पनि यस वर्ष कोभिड–१९ संक्रमणका कारण देशभरका बसपार्क सुनसान छन् । यात्रु नभएपछि धनगढी बसपार्क पनि सुनसान छ । कोभिड १९ संक्रमण जोखिमको कारण यस वर्ष दशैंका लागि आफ्नो घर जाने यात्रुहरु निकै कम छन् ।
विगतमा दशैं सुरु नहुँदै कैलालीको धनगढी बसपार्कमा चहलपहल शुरु भइसक्थ्यो । तर यसवर्ष कोरोना संक्रमणको जोखिमका कारण बसपार्क क्षेत्र सुनसान छ । यात्रा गर्नेहरु दशैंका लागि भन्दापनि काम विशेषले मात्रै यात्रा गर्नुपरेको बताउँछन् ।
धनगढी बसपार्क व्यवस्थापनले यात्रुहरुको चाप नभएको भन्दै दशैं लक्षित टिकट बुकिङ पनि नखोल्ने भएको छ । अघिल्लो वर्षहरुमा दशैं शुरु हुनु भन्दा करिब एक महिना अघि देखि नै टिकट बुकिङ खुला भइसक्थ्यो । तर यस वर्ष यात्रु नै नभएका कारण अग्रिम टिकट बुकिङ खुल्न नसकेको धनगढी बसपार्कका कार्यालय प्रमुख देविलाल जोशीले बताए ।
काम विशेष बाहेक यात्रा गर्ने यात्रु नहुँदा अहिले सञ्चालनमा आएका सवारीसाधनले पनि प्रयाप्त यात्रु पाउन सकेका छैनन् । दशैंको समयमा यात्रु बढ्ने अपेक्षामा रहेका यातायात व्यवसायीहरु यात्रु नै नहुने स्थिति आएपछि भने निराश देखिएका छन ।




