मुख्य समाचार

प्रस्तावित राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु

काठमाडौं । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रकृया सुरु भएको छ । संसदीय समितिले प्रक्रिया सुरु गर्दै प्रस्तावित राजदूतहरु विरुद्ध १० दिने उजुरी आह्वान गरेको छ ।

आज बसेको समिति बैठकले भोलिबाट लागू हुने गरी अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत डा. निर्मलकुमार विश्वकर्माविरुद्ध उजुरी आह्वान गरेको हो ।

संसदीय समिति कार्यविधि २०७५ को दफ १२ बमोजिम उजुरी आह्वान गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए । खतिवडालाई अमेरिकाका लागि आवासीय र अमेरिकाको अलावा पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको छ ।

यस्तै पूर्व मुख्यसचिव रेग्मीलाई बेलायतका लागि आवासीय र गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो ।

त्यस्तै डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत र वोत्सुवाना, केन्या, कंगो, तान्जानिया, जाम्भिया, जिम्वावे ज्ञावेनलगायतका देशका लागि गैरआवसीय राजदूत पदमा नियुक्त गर्न सिफरिस गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *