मुख्य समाचार

निर्मला पन्त हत्या प्रकरण छिटै टुंगोमा पुग्ने आइजीपीको दावी

काठमाडौं । दुई वर्षअघि वलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्त घटनाको अनुसन्धान छिटो निष्कर्षमा पुग्ने गरी भइरहेको प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापाले बताएका छन्। बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा थापाले उक्त जानकारी गराएका हुन्।

समितिकी सभापति शशी श्रेष्ठले निर्मला घटनाको अनुसन्धानको बारेमा जानकारी माग गरेपछि महानिरीक्षक थापाले औपचारिक र अनौपचारिक ढंगले अनुसन्धान अगाडि बढिरहेको जानकारी गराएका थिए। घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले एकजना अधिकृतलाई खटाएको उनले जानकारी दिए। अहिले ती अधिकृत कञ्चनपुरबाट बझाङ घटनाको अनुसन्धानमा गएको उनले बताए। सिआइबीमा कार्यरत ती अधिकृत सम्झना कामी बलात्कार पछि हत्या घटनाको अनुसन्धानका लागि बझाङ गएका छन्।

२०७५ साउन १० मा बेपत्ता भएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया वालिका निर्मला दोस्रो दिन घर भन्दा केही परको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन्। उनको वलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको थियो। यसअघि सार्वजनिक गरिएका व्यक्तिलाई अनुसन्धानमा संलग्न अधिकारीहरुले यातना दिएको भन्दै जिल्ला अदालतमा परेको मुद्दामा पनि सबै प्रहरी अधिकारीले सफाई पाएपछि अनुसन्धानमा सहजता भएको आइजिपी थापाले बताए। प्रहरीले यातना नदिएको अदालतबाटै पुष्टि भएकाले अनुसन्धान तीब्र पार्न सहज हुने उनले बताए। निर्मला घटनाको छानविनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमखलाई समेत जिम्मेवारी दिइएको महानिरिक्षक थापाले संसदलाई जानकारी गराएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *