काठमाडौं । स्वास्थ्यमन्त्रालयले तोकेकोभन्दा बढी शुल्क लिएर पिसीआर टेस्ट गर्ने ८ वटा निजी स्वास्थ्य संस्थालाई कालो बजारी ऐनअन्तर्गत कारबाही हुने भएको छ । मन्त्रालयस्तरीय इन्सिडेन्ट कमाण्ड सिस्टमले कारबाहीको दायराभित्र ल्याउने निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार गुणस्तर मापन तथा नियन्त्रण महाशाखाले दिएको प्रतिवेदनअनुसार विभिन्न आठवटा प्रयोगशालाहरु हेम्स अस्पताल, निकोर ल्याब, इन्टिपेट ल्याब, नेपाल मेडिसिटी अस्पताल, सेन्टरले डाइनोगेस्टी ल्याब्रोटोरी (सिडिएल), स्टार अस्पताल, बी एन्ड बी अस्पताल, सूर्या हेल्थ कियर बढी शुल्क लिएर परीक्षण गरेको पाइएको छ । उनीहरुलाई एक पटकलाई चेतावनी दिएको छ भने २४ घन्टाभित्र तोकिएको शुल्क समायोजन नगरे प्रयोगशालाको परीक्षण स्वीकृति खारेज गरी पत्राचार गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिने निर्णय गरेको छ ।
गत भदौ २८ गते आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को परीक्षण सबै प्रयोगशालाका लागि २ हजार रुपैयाँ तोकेको थियो । यो तोकिएको भन्दा बढी शुल्क लिने प्रयोगशालाहरुलाई कालो बजारी गरेको आधारमा प्रयोगशाला बन्द गराउने गरी गृहमन्त्रालय र वाणिज्य विभागलाई कारबाही गर्न लेखी पठाउने निर्णय भएको प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिए ।




