काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी सिध्याउने बाटोमा लागेको आरोप लगाएकी छन् । हिजो सोमबार पार्टी कार्यालयमा दर्ता गराएको विरोधपत्र त्यसको एउटा नमुना भएको उनले भनाइ थियो ।
नेपाली कांग्रेस यतिबेला कम्युनिस्ट सरकारको भ्रष्टाचार र स्वच्छाचारीविरुद्ध जुध्नु पर्ने बेलामा आफ्नै पार्टी सभापतिविरुद्ध विरोधपत्र दर्ता गराए वरिष्ठ नेता पौडेलले असल काम नगरेको नेतृ कोइरालाको भनाइ थियो । पार्टी कार्यालयमा दर्ता गराएको उक्त विरोधपत्रप्रति आफ्नो कुनै सहमति नभएको नेतृ कोइरालाले स्पष्ट पारिन् ।
‘शेरबहादुरजीले त आफ्ना सबै साथीहरुलाई एकजुट बनाएर राख्नुभएको छ। तर, हामीहरुको तिर त गुटैगुटमात्र छन्। त्यसभित्र पनि कसले कसलाई सिध्याउने भन्ने छ। त्यसैले म त बैठकहरुमा जान पनि छोडिसकेको छु।’
– नेतृ सुजाता कोइराला
निजी क्षेत्रको एउटा टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै नेतृ कोइरालाले भनिन, पौडेल समूहका नाममा विरोध पत्रमा आफुले असहमति छ भन्दाभन्दै हस्ताक्षर समावेश गराए । ‘जीवन परियारजी आएर ल हस्ताक्षर गर्नुपर्यो भन्नुभयो। मैले गरे, तर एकघन्टाभित्रै मैले वहाँलाई फोन गरेर मेरो असहमति नै भनेकी हुँ,’ कोइरालाले भनिन्।
कोइरालाले कांग्रेसभित्र आपसमै लडाइ गरे पार्टीको अस्तित्व नै समाप्त हुने बताउँदै गुटका नाममा रामचन्द्र पौडेलले गरिरहेका क्रियाकलाप आफुलाई मान्य नभएको पनि बताइन। ‘सबै दोष सभापति शेरबहादुर देउवालाई मात्रै दिएर हुदैन, दोष सबैको छ,’ उनले भनिन्, ‘शेरबहादुरजीले त आफ्ना सबै साथीहरुलाई एकजुट बनाएर राख्नुभएको छ। तर, हामीहरुको तिर त गुटैगुटमात्र छन्। त्यसभित्र पनि कसले कसलाई सिध्याउने भन्ने छ। त्यसैले म त बैठकहरुमा जान पनि छोडिसकेको छु।’
‘शेरबहादुरजी र रामचन्द्रजी दुबै समूहमा राम्रा साथीहरु पनि छन्। दुबैलाई मिलायो भनेमात्र कांग्रेस बलियो हुन्छ,’ कोइरालाले भनिन्, ‘होटल र रेस्टुरेन्टमा बसेर सिक्नेचर क्याम्पेनिङ गर्ने भन्दा पनि पार्टी अफिसमै बसेर सभापतिलाई पनि राखेर छलफल गर्नुपर्छ।’




