ताजा समाचार

प्राकृतिक बज्रपातको निशानामा सिन्धुपाल्चोक, राज्यको किन उपेक्षा ?

विगत सात वर्षदेखि सिन्धुपाल्चोक जिल्लाले एकपछि अर्को गर्दै महाविपत्तिको समाना गरिरहेको छ । २०७१ सालमा गएको जुरेको पहिरोबाट सुरु भएको विपत्तिले २०७७ भदौ २८ गते सम्म आइपुग्दा सिन्धुपाल्चोकलाई लगभग तहस नहस बनाएको छ ।

त्यतिबेला जुरेको पहिरोले धनजनको क्षति पुर्यायो नै त्यो भन्दा ठूलो क्षती अरिनिको राजमार्ग भत्केका कारण तातोपानी नाका अवरुद्ध हुँदा भयो । जुरेको पहिरोले ठप्प बनाएको तातोपानी नाकाको व्यापार अहिलेसम्म लयमा नआउँदा कयौं व्यापारीहरु पलायन भएका छन् । सिन्धुपाल्चोक जिल्लाको आर्थिक सम्पन्नताको धरोहर थियो तातोपानी नाका । जुरेको पहिरोले ध्वस्त भएको अरनिको राजमार्ग निकै ढिलाईका साथ मर्मत भयो , तर २०७२ साल बैशाखमा आएको भूकप्पले त्यसलाई तहस नहस बनायो । फेरी मर्मत सम्पन्न हुन हुन लागेको थियो , भोटेकोशी नदीमा तिब्बती क्षेत्रबाट रहस्यमय बाढी आयो । वाढीले राजमार्ग तथा तातोपानी क्षेत्रको बजार नै बढारिदियो ।
सिन्धुपाल्चोक जिल्ला कमजोर भूधरातल भएको पहाडले बनेको छ । यसै पनि सुख्खा याममा समेत पहिरो गइरहने ठाउँ हो । त्यस माथि पनि २०७२ सालमा गएको भूकम्पले पहाडहरु चीरा चीरा बने । पहाडका ति चीरामा बर्षायामको पानी पस्यो भने क्षत विक्षत हुने संभावना थपियो ।

जिल्लाका तत्कालिन सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको ठूलो पहल पछि भुगर्वविद्हरु सिन्धुपाल्चोकका गाउँ गाउँमा गएर अध्यायन गरे । भूकम्पले ध्वस्त भएका सर्वसाधरणका घरहरु पुननिर्माण गर्ने क्रममा त्यो अध्यायन गरिएको थियो । यथास्थानमा पुननिर्माण गर्न सकिन्छ कि,बस्ती सार्नुपर्छ ? भन्ने प्रश्नको उत्तर खोज्नका लागि नेता बस्नेतको संक्रियतामा भौगर्भिक अध्यान गरिएको थियो । जिल्लालाई राम्रोसँग चिनेका , चप्पा चप्पामा पुगेका जनप्रिय नेता मोहन बस्नेतलाई धाँधली गरेर हराई कम्युनिष्टहरुले चुनाव जिते । मुलुकमा कम्युनिष्टको सरकार गठन भयो । यस पछि भने भूगर्भविद्हरुले दिएको प्रतिवेदन दराजमा थन्क्याइयो । यतिबेला भएको पहिरोको दुर्दशा यसैको उपज हो ।

अध्यायनका क्रममा ३ सय ३७ बस्ती जोखिममा परेको औंल्याइएको थियो । जसमध्ये २ सय ९० बस्ती त स्थानान्तरण हुनुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ । करिव दुई दर्जन बस्तीहरुलाई एक– दुई वर्षसम्म विचाराधीन राख्नु पर्ने , करिव ३ दर्जन बस्तीहरुलाई जोखिम मुक्त बनाउनका लागि पहिरो रोकथामको उपाय अवलम्वन गर्नु पर्ने भन्दै भूगर्भविद्हरुले प्रतिवेदन दिएका थिए । तर गत आम निर्वाचन पछि उक्त प्रतिवेदनकार्यन्वयन तर्फ जनप्रतिनिधिहरु्रले चासो दिएनन् ।

यही वर्षको मात्रै उदाहरण हेरौं । भोटेकोसी र बाह्रबिसेमा असार २५ गते पहिरोले ४ जनाको मृत्यु भएको थियो । भोटेकोसीमै साउन १ गते पहिरो जाँदा एकै परिवारका ५ जनाले ज्यान गुमाए । मेलम्चीमा साउन १९ गते पहिरोमै १० को मृत्यु भयो भने १ जना घाइते भए । जुगल–२ लिदीमा साउन ३० गते आएको पहिरोमा सबैभन्दा बढी क्षति भयो । त्यहाँ ३७ जनाले ज्यान गुमाए भने २ बेपत्ता छन् । आइतवार बाह्रविसेमा गएको पहिरोले दर्जनौको ज्यान लगेको छ । कयौं घर भत्केका छन् ।

तथ्यांक कतिसम्म डरलाग्दो छ भने गत असार यता मुलुकभरका ५१ वटा जिल्लामा गरी पहिरको कारण करिव ३ सय ३१ जनाको मृत्यु भएको छ । जसमध्ये सिन्धुपाल्चोक जिल्लामा मात्रै १ सय भन्दा बढीको मृत्यु भएको छ । भूकम्पको बेलामा पनि मृत्यु हुनेमध्ये करिव ४० प्रतिशत सिन्धुपाल्चोककै थिए । भूकम्पले सिन्धुपाल्चोकका गाउँ–गाउँमा चिराचिरा बनाएको थियो । यस्ता चीरा परेका ठाउँहरु हरेक वर्ष अध्ययन गरिनुपर्थ्याे।

सरकारले राहत बाँड्न जाँदा विज्ञको टोली पनि लिएर जानुपर्थ्याे। मन्त्री राहत बाँड्थे, विज्ञले त्यो पहिरो कसरी गयो भनेर अध्ययन गर्थे । त्यहाँबाट पाठ सिकेर अन्य पहाडी भागका बासिन्दा सचेत गराउन सजिलो हुन्थ्यो । सरकारलाई अन्य ठाउँमा घटना हुन नदिन योजना बनाउन सजिलो हुन्थ्यो । यस्तो चलन नेपाली कांग्रेस सरकारमा हुँदा थियो । तर कम्युनिष्ट सरकारले यति पनि हेक्का राखेन ।

आँफू भुगर्भविद् नभए पनि जिल्लाबासीका नाताले यस पंक्तिकारको अनुभवका आधारमा भन्नु पर्दा लिदी, भीरखर्क र नागपुजे (वाह्रविसे)का पहिरो एकै प्रकृतिका हुन् । भूकम्पकै बेला जमिन चीरा चीरा बनेका थिए , त्यही चीरामा वर्षा यामको पानी छिर्दै गएर जमिन भासिएको हो ।

बाह्रविसे पहिरो
गाउँमाथिबाट खसेको ढिस्कोका कारण पहिरो खस्दा आइतबार बाह्रविसे नगरपालिका–७ घुम्थाङको तीन बस्तीका ११ को ज्यान लिएको छ । २० जना हराई रहेका छन् । पहिरोले बगाउँदा तीन वटा बस्तिका २२ घरको नामनिशाना छैन। बिहान २ बजेतिर बस्तिमाथिको भिरखर्क पहाडबाट बर्षाले गलेको ढिस्को खसेको थियो। लेदोमाटोसहित खसेको त्यही ढिस्कोले क्षेत्र बिस्तार गर्दै क्रमशः पहिरोको रुप लिएको थियो । भिरखर्कबाट खस्न सुरु गरेको पहिरो त्यसपछिका तीन बस्ती लछार्दै झण्डै एक किलोमिटर तल भोटेकोसी नदीमा पुगेको थियो। ढिस्कोको ठिकमूनि ५८ घरपरिवारको भिरखर्क बस्ती छ । केही भिरालो यो बस्तीमा नेवार र बिक टोल छन्। अलि पर सानो टोल भिरथाप्लो छ । भिरखर्कको झण्डै आठ सय मिटर तल रहेको नागपुजे बस्तीमा पहिराले सबैभन्दा बढी जनधनको क्षति गरेको छ ।
पहिरोमा परी स्थानीय भिरखर्क, भिरथाप्लो र नागपुजे बस्तिका ६ महिला, तीन पुरुष र एक÷एक बालक तथा बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा भक्तिमाया श्रेष्ठ (६३), ट्याक्सी शेर्पा (९८), ज्ञानीमाया प्रधान (४२), जुनु बिक (२३), सुकुलाल बिक (२४), सन्देश बिक (८), सर्किनी नेवार (६०), धनलाल नेवार (६५), हिरामाया श्रेष्ठ (४२), सरस्वती विक (५) र करणबहादुर श्रेष्ठ (२५) छन् ।
बेपत्ता हुनेहरुमा रसबहादुर नेवार (४८), दिलमाया श्रेष्ठ (१८), रीता श्रेष्ठ (३७), डालियल श्रेष्ठ (५), नादान श्रेष्ठ (४), अमृत श्रेष्ठ (२५), मनिता श्रेष्ठ (२५), रविना श्रेष्ठ (२७), रेयुशा श्रेष्ठ (८), पदमकुमारी श्रेष्ठ (६०), रामकुमारी श्रेष्ठ (४२), लालबहादुर श्रेष्ठ (५१), बुद्धलक्ष्मी श्रेष्ठ (५०), लक्ष्मी श्रेष्ठ (११), कुमार बिक (२२), सोनिया बिक (२१), रुपा बिक (१०) र शिबबहादुर नेवार छन् । पाहुना आएकी एक महिला र दुई महिने एक बालकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

तामाङ, शेर्पा, क्षेत्री लगायत समुदाय बस्ने नागपुजेको नौ घरपरिवारको हगामे टोल नै बगाएको छ । टोलका मात्रै २० जना पहिरोमा परे । पहिरो जाँदा स्थानीय निद्रामा थिए। भागेर बाँचेका घाइतेबाहेक पूर्णक्षतिग्रस्त घरका सुतिरहेका सबै पहिरोमा परेका हुन् । बाक्लो बस्ति रहेको नागपुजे भने समथर भूभागमा छ । भिरखर्कमा गएको हिउँदमा सामान्य सुख्खा पहिरो खसेको थियो । अहिले त्यही ठाउँबाट ढिस्को खसेर पहिरो गयो ।
पहिरोपछि उच्च जोखिममा रहेका भिरखर्क, भिरथाप्लो र नागपुजे बस्तीका एक सय ७८ परिवारले घर छोडेका छन्। उनीहरुलाई नागपुजेकै सुरक्षित महसुस गरिएको फराकिलो चौरमा राखिएको छ । उनीहरुलाई बस्न त्यहाँ बाह्रविसे नगरले उपलब्ध गराएको ४५ टेन्ट गाडिएको छ ।

लिदी पहिरो
गत साउन ३० गते जुगल गाउँपालिका–२ लिदीको पहिरोमा परी ३९ जनाको मृत्यु भएको थियो । जसमध्ये २ जनाको शब अझै फेला परेको छैन । पहिरोले यहाँका २९ घर तहसनहस बनाएको थियो । १७ घरभित्र केही भाग्दाभाग्दै र अधिकांश बचाउने क्रममा पुरिए ।
जुगल गाउँपालिकाको कार्यालय रहेको ढाडेबाट करिब २५ किलोमिटर टाढाको लिदी ज्यादै दुर्गम गाउँ हो । लिदीका एक सय ७२ घरमा ३० घर पूर्ण रूपमा ध्वस्त भएसँगै वरिपरिको जमिन धाँजा फाट्दै गएकाले सबै त्रासमा छन् । केही परिवारले बासखर्कमा जाँदै गरे पनि अधिकांश भने लप्सेडाँडामै अस्थायी टहरो हालेर बसेका कारण अझै जोखिम बाँकी नै छ । । समयमै लिदीको बस्तीबासखर्कमा सार्न सकेको भए यो अवस्था आउने थिएन । लिदी जोखिम भएकोले बासखर्कमा सार्ने सुझाव भुगर्वविद्हरुले दिएका थिए । यसका लागि प्रयास पनि भएको थियो , तर संघीय सरकारको वन मन्त्रालयले एकाएक रोकिदियो । संघीय सरकारलाई लिदीको बास्तविकता बारे अवगत गराउन स्थानीय जनताले आफ्ना सांसद अग्नि सापकोटा समक्ष धेरै हार गुहार गरे तर सुनुवाई भएन । त्यसैले लिदीको त्यो क्षतिमा वर्तमान सभामुख अग्नि सापकोटा पनि त्यतिकै जिम्मेवार छन् ।

मेलम्ची पहिरो
साउन १९ गते मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा १० जनाको मृत्यु भयो । बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनाको शव भोलिपल्ट फेला पारियो । मृत्यु हुनेहरुमा एक जना भारतीय नागरिक, दुई जना पर्सा र ५ जना सिमराका थिए । मृत्यु हुनेहरुमा ४२ वर्षीय भारतीय नागरिक राजेन्द्र चौरसिया, पर्साको वीरगन्जका ३५ वर्षीय प्रदीप चौरसिया र २१ वर्षीय राजेश चौधरी, बाराको सिमराका २५ वर्षीय विक्रम थिङ, मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिवबालक धामी र १७ वर्षीय सोनाम लामा रहेका छन् ।

पहिरोले कभर्ड हलको आधा भाग र मजदुर बस्ने टहरो पूरै पुरेको थियो ।

जम्बु-भोटेकोशी पहिरो
असार २५ गते सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ५–जम्बु र भोटेकोशी गाउँपालिका –५ बुलकोटेमा गएको बाढीपहिराले करिव तीन दर्जनको ज्यान लियो । बाढीले बस, ट्यांकर, ट्रक र कार समेत बगायो । दुवै ठाउँमा गरी ३६ घरटहरा बगे । भोटेकोशीले बाह्रबीसेस्थित इलाका प्रहरी कार्यालय नजीक अरनिको राजमार्ग र जुरेमा करीब ३०० मिटर सडक बगाएकाले निकै दिन आवागमन अवरुद्ध भयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *