काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहनुपर्ने भएको भन्दै आजको मन्त्रिपरिषद्को बैठक स्थगित गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार नेकपाको शुक्रबार बोलाइएको बैठकको तयारीमा ओली व्यस्त रहनुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।
मन्त्रिपरिषद्को बैठक आज बिहीबार साँझ बोलाइएको थियो । आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति हुने बताइएको थियो । त्यस्तै, मन्त्रिपरिषद्को बैठकले सरकारको प्रवक्ता तोक्ने र केही मुलुकका लागि राजदूत सिफारिस गर्ने पनि तयारी गरेको थियो । मन्त्रिपरिषदको बैठक भोलि शुक्रबार बस्ने बताइएको छ ।
बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति हुने बारे पनि निर्णय गर्ने बताइएको छ । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिबारे यसअघि ने मन्त्रिपरिषद्को बैठकमा छलफल गरेका थिए ।
मन्त्री पुनले हालका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै निरन्तरता दिने कि अर्को व्यक्तिलाई ल्याउने भन्ने बारेमा छलफल गरेका थिए । स्रोतका अुनसार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान नै हुने निश्चित भइसकेको छ । तर कति समयाको लागि नियुक्ति गरिने भन्ने बारे भने खुलाइएको छैन ।




