मुख्य समाचार

गृहसचिवको निर्णय पर्खाइमा उपत्यकाका प्रजिअहरु

काठमाडौं । उपत्यका प्रशासनले चौथो पटक निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने विषयमा छलफल थालेको छ । मंगलबार दिउँसो साढे २ बजे काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भर्चुअल गरेका थिए ।

कोरोना संक्रमण बढेपछि तीनवटै जिल्लाले भदौ ४ गतेदेखि निषेधाज्ञा लगाएका छन् । तेस्रो पटक थपिएको निषेधाज्ञाको समय बुधबार मध्यराति सकिँदैछ । अझै संक्रमण नियन्त्रणमा नआएकाले पूर्ण रुपमा खुला गर्न नहुनेमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एकमत छन् । हालकै अवस्थामा निरन्तरता दिँदा पनि जनस्तरबाट विरोध हुनसक्ने प्रमुख जिल्ला अधिकारीहरुको बुझाइ छ ।

गृह मन्त्रालयले पनि निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी खाका प्रस्तुत गर्न भनेको छ । मंगलबारको संवादपछि निस्किने निष्कर्षबारे गृहसचिव महेश्वर न्यौपानेलगायतसँग छलफल गरेर उपत्यकाको निषेधाज्ञाबारे निर्णय हुने स्रोतको भनाइ छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार बुधबार मात्र निषेधाज्ञाबारे निर्णय हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *